वैदेशिक रोजगारीमा जाने श्रमिकसँग लिइएको अवैध रकम फिर्ता गराउन आईटीआर्मीले विभाग घेराउ गर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ जेष्ठ २०८१, आईतवार
3 Min Read
Aa

काठमाडौं, आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग लिइएको अवैध रकम फिर्ता गराउन आगामी असार २ गतेदेखि वैदेशिक रोजगार विभाग घेराउ गर्ने भएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रमहरु जानकारी गराइएको हो ।  आईटीआर्मीका संस्थापक अध्यक्ष चन्द्रभुषण साहले वैदेशिक रोजगारीमा जाने लाखौं युवाहरुबाट खर्बौं रकम अवैध रुपमा असुली भएको बताए । लामो समयदेखि भइरहेको उक्त अवैध असुलीलाई आइटीआर्मीले रोक्न चाहेको उनले बताए । उनले यसरी अवैध रुपमा गरिएको असुली फिर्ता गराएर छाड्ने बताए ।
‘लाखौं लाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ । १० हजारको नाममा १० लाख, ५ लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं,’– उनले भने ।
नेपालको हरेक राजनीतिक आन्दोलनमा युवाहरुले योगदान गरेपनि युवाहरुको भविष्यमाथि सरकार गम्भीर नबनेको उनको भनाइ छ । उनले संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिएपनि यो शासन सत्ताले युवाहरुलाई रोजगार दिन नसकेको बताए ।
साथै, उनले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत भित्रिइरहेको पनि बताए । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उनको आरोप छ । नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनु्पर्ने आईटीआर्मीको माग छ ।
‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ । ती युवाहरुले पठाउने रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रसाशकहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको रुपमा प्रयोग गर्ने अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ,’– उनले भने ।
साथै, विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्यूलाई उनले ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गरे । यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताए । वैदेशिक रोजगारीमा पठाउँदा जीटूजी प्रणाली अवलम्बन गरिनुपर्ने उनको माग छ ।
आईटी आर्मीका केन्द्रीय सचिव प्रशान्त केसीले विदेश पठाउने नाममा धेरै अनियमितता, भ्रष्टाचार र ठगी भइरहेको बताए । अहिलेसम्म यी मुद्दामा कुनै राजनीतिक दलहरुले आवाज नउठाइदिएकाले आफूले सशक्त रुपमा आवाज उठाउने निर्णय गरेको उनले सुनाए । गलत काम गर्ने मेनपावर व्यवसायी र त्यस्ता काममा संलग्नहरुको विरुद्ध अब आईटीआर्मीले धावा बोल्ने उनले उद्घोष गरे ।
आईटीआर्मीका महासचिव नरेश… ले नेपालमा सदियौंदेखि वैदेशिक रोगजारीमा पठाउने परम्परा चलिरहेको र कुनै न कुनै रुपमा यसमा नेताहरुको संलग्नता रहेको बताए । नेताहरुले मेनपावरको माध्यमबाट युवाहरुलाई लुटिरहेको उनले बताए ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array