काठमाडौँ – नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैर आवासीय नेपाली नागरिकता प्राप्त एनआरएनहरुलाई नेपालमा हवाई यात्रा गर्दा नेपाली नागरिक सरह शुल्क तोक्न माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभामा बजेट विनियोजन सम्बन्धी छलफलमा भाग लिंदै सांसद गिरीले संविधान बमोजिम गैर आवासीय नेपाली नागरिकता दिइ सके पछि भेदभाव गर्न नहुने बताए। “एनआरएन नागरिकता वाहक गैर आवासीय नेपालीलाई नेपाल भित्र हवाई यात्रा गर्दा नेपाली सरह भाडा तोक्न म माग गर्दछु ।” हाल सम्म हजारौं एनआरएनहरुले नेपाली नागरिकता लिइ सकेको अनुमान गरिएको छ। सांसद गिरीले नेपाली जहाजहरुलाई युरोपेली संघ (इयु) ले सन् २०१३ देखि नै कालो सूचीमा राखी राखेको बताउंदै उक्त सूची बाट नेपाललाई निकाल्न कूटनीतिक पहल गर्न माग गरे। “इयुको कालो सूचीमा रहँदा ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले २० गन्तव्यमा मात्रै अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ,” उनले भने।
“इयले नेपालमा हवाई दुर्घटनाको दर कम गर्न पहाडका विमानस्थलमा आवश्यक प्राविधिक उपकरणमा लगानी गर्दै प्रविधिमैत्री बनाएर हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा ध्यानकर्षण गराए पनि यसको प्रगति के भएको छ यसबारे जानकारी गराउन सरकारसंग माग गर्दछु,” सांसद गिरीले भने। लुम्बिनीमा प्रसुति अस्पताल बनाउन माग
कांग्रेस सांसद गिरीले बजेटमा प्रस्तावित जनकपुरलाई ‘वेडिङ हब’ र भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ‘बर्दिंग हब’ को रूपमा प्रवर्द्धन गर्ने प्रस्ताव सकारात्मक रहेको बताए । उनले लुम्बिनीलाई ‘बर्दिंग हब’ बनाउन लुम्बिनी प्रदेश सरकारसंग सहकार्य गरी अत्यन्तै गुणस्तरीय मातृ शिशु सेवा पुराउन सक्ने अस्पतालको व्यवस्था गर्न माग गरे । “शिशु जन्मनु अघि र शिशुको जन्म भै सके पछि आमा तथा बच्चाको भरपर्दो प्रि न्याटल तथा पोस्ट न्याटल सेवा प्रदान गर्न नसक्ने हो भने खतरा मोलेर कोही पनि बच्चा जन्माउन नेपाल आउँदैन। लुम्बिनीको ‘बर्दिंग हब’ मा उपलब्ध हुने सेवालाई नमुना मानेर पछि नेपाल भरि त्यस्तै सेवा उपलब्ध गराउने महत्वाकांक्षा सरकारले राख्नु पर्दछ,” उनले भने।
सांसद गिरीले देशकै एउटा प्रमुख धार्मिक केन्द्र प्युठान जिल्लामा रहेको स्वर्गद्वारीमा खाने पानीको समस्या रहेको बताउंदै दर्शनार्थीहरुको लागि सुविधायुक्त आवास बनाउन आवश्यक रहेको बताए । उनले स्वर्गद्वारी जाने बाटो घुमाउरो भएकाले सडक दुर्घटना हुने गरेको र तीर्थ यात्रीहरुको सुरक्षाका लागि सडक विभागसंग समन्वय गरी तत्काल कार्य योजना बनाएर लागू गर्न पनि माग गरे । सांसद गिरीले नेपालमा पर्यटन क्षेत्रले साढे चार लाख मानिसलाई प्रत्यक्ष रोजगारी तथा साढेतीन लाखलाई मौसमी रोजगारी दिएको बताउंदै बेगलोर – काठमाडौँ, कोलकता – काठमाडौँ, जनकपुर – बनारस र बिराटनगर – सिक्किम हवाई उडानको सम्भाव्यता पहिचान गरी निजी क्षेत्रको सहयोगमा उडान संचालन गर्न पनि माग गरे।


प्रतिक्रिया दिनुहोस्