कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ असार २०८१, आईतवार
3 Min Read
Aa

काठमाण्डौं, नेपाल प्रहरीले सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाइ वचतकर्ताहरुको अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना सञ्चालक र व्यवस्थापकहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पक्राउ पर्नेहरुमा वर्ष ४३ का तेजविक्रम थापा, वर्ष ४४ की सजना राजकर्णिकार, वर्ष ४७ का सञ्जय सापकोटा, वर्ष ५३ का भीमसेन महर्जन रहेको बताए ।

तनहुँका थापा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् भने काठमाडौं गोकर्णेश्वरकी राजकर्णिकार संस्थाकी व्यवस्थापक हुन् । त्यस्तै काठमाडौं कीर्तिपुरका महर्जन र काठमाडौं चाबहिलका सापकोटा संस्थाका सदस्य रहेको बताए ।

उनका अनुसार थापा २०५६ सालदेखि संस्थाको चिफ अकाउन्टेन्ट र संस्थापक सदस्य रहेको, २०६० देखि संस्थाको कार्यकारी अध्यक्ष रहेको, २०६६ सालदेखि समिट अस्पताल लोकन्थलीको अध्यक्ष रहेको, २०७० देखि अन्नपूर्ण किसान फिड एन्ड फर्टिलाइजेसन उद्योगको अध्यक्ष, २०७१ देखि कृषि टेलिभिजनको संस्थापक अध्यक्ष, २०७३ सालदेखि गोर्खा टेलिभिजन (साझा संसार मिडिया नेटवर्क) को संस्थापक अध्यक्ष, २०७४ सालदेखि यति हर्ब्स प्रा.लि.को अध्यक्ष, २०७१ सालदेखि इन्टेन्सिभ एग्रिकल्चर कम्पनी प्रा.लि.को अध्यक्ष, २०६६ देखि कृषि इन्भेस्टमेन्ट प्रा.लि.को अध्यक्ष, २०७० देखि कृषि फ्रेस प्रा.लिको अध्यक्ष र २०७६ देखि यति टेक्निक प्रा.लि.को अध्यक्ष रहेको पाइएको छ । निजमाथि जिल्ला प्रहरी परिसर काठमाडौंमा २६ लाख ६६ हजार ६६६ मा बैंकिङ कसुर मुद्दाहरू रहेका छन् । उनीहरुमाथि ५६६ जनाले जाहेरी दर्ता गरेका छन् । उनीहरुले ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।

त्यस्तै पीडित बचतकर्ताहरू २ हजार ५ सय ३१ र दुई अर्ब ८० करोडको निक्षेप रहेको एसएसपी भट्टराईले बताए । उनीहरुबाट मोबाइल ६ थान, पेनड्राइभ ३ थन, हस्ताक्षरसहितको चेक ३ थान, बा २५ च ४२९६ नम्बरको इको भ्यान एउटा, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको एक थान छाप, यति टेक्निक फर्मको छाप एक थान र प्रतिवादी तेजविक्रम थपाले राज ठकुरीको नाममा बनाएको गोर्खा टीभीको परिचय पत्र बरामद भएको प्रहरीले बताएको छ । पक्राउ परेका अध्यक्ष थापा र राजकर्णिकार लामो समयसम्म फरार भएपछि पीडितहरूले उनीहरूको तस्बिर राखेर विभिन्न ठाउँमा सूचना टाँसेका थिए । उनीहरूले फ्लेक्समा भएका व्यक्तिहरूलाई कतै देखिएमा १०० मा सम्पर्क गरी जानकारी गराउन भनेर अनुरोध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array