सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ बजारमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ असार २०८१, आईतवार
2 Min Read
Aa

काठमाण्डौँ । साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवम् पत्रकार घनश्याम खड्का र लेखक सगुना शाहले लोकार्पण गरेका हुन् । पुस्तकमाथि टिप्पणी गर्दै सगुना शाहले ‘स्व’ स्व-अस्तित्वको खोजको कथा भएको बताइन्, “जब सप्तमले आफूलाई चिन्नलाई कोसिस गर्छ, तब उसले त्यसलाई आफ्नो अस्तित्वसँग जोडेर त्यसैको खोजीमा लागेको छ ।” उपन्यासको मुख्य पात्र सप्तमबारे टिप्पणी गर्दै उनले थपिन्, “बौद्ध-दर्शन र त्यसको संवरणलाई सरस्वतीजीले सप्तममार्फत उतार्नुभएको छ । बहुरुपी सप्तमको यात्रा रोचक र चित्ताकर्षक छ । कलात्मक भाषा-शैली र कथावाचनले उपन्यास उच्चकोटीको बनेको छ ।”

उपन्यासबारे बोल्दै अर्का वक्ता घनश्याम खड्काले मानिसका प्रयत्न खुशीको खोजी भएको र आफैंभित्रको यात्राबाट मात्रै त्यो सम्भव भएको बताए । उनले भने, “त्यही यात्राको खोजका निम्ति सप्तमको मनोविज्ञानलाई चित्रांकन गर्दै सरस्वतीजीले सुन्दर उपन्यास सृजना गर्नुभएको छ । बौद्ध-दर्शनको मार्गमा पात्रको मनस्थितिलाई विभिन्न तहहरूमा बुन्दै यति सुन्दर उपन्यास लेख्नु जीवनभित्रको दर्शन पनि हो । जीवनको फराकिलो फलकमा लेखिएको एक सुन्दर कृति नेपाली पाठकले पाएका छन् ।”

सात वर्षको समयावधिमा उपन्यास लेखिसकेको र आफ्नो अध्ययन, अनुभव र ज्ञानलाई उपन्यासमा चित्रण गर्ने कोसिस गरेको लेखक सरस्वती प्रतीक्षाले बताइन्, “यसमा समाज छ, दर्शन छ र चिन्तन पनि छ । शिल्पमा स्वेरकल्पनाको प्रयोग गरेकी छु ।” सात वर्षअघि प्रकाशित ‘नथिया’ उपन्यासबाट पाठक र समीक्षकको राम्रो प्रतिक्रिया पाएकी सरस्वती प्रतीक्षाको यो दोस्रो उपन्यास हो । बुकहिल पब्लिकेसनले प्रकाशन गरेको २९६ पृष्ठको ‘स्व’को मूल्य ५९९ रुपैयाँ रहेको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array