काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ४५ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तथा रेखाचित्रण चौथो समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सोमबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जिवन कुमार श्रेष्ठले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सवारी दुर्घटनाको अनुसन्धानको सिलसिलामा सवारी दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरूलाई रेखाचित्रणको माध्यमबाट देखाउन सके अनुसन्धान प्रभावकारी हुने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक शेखर जंग मल्लले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ७ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार १४ जना र प्रहरी जवान २६ जना गरी कुल ४५ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्