सबै नेपाली जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध : खानेपानी मन्त्री

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ असार २०८१, शुक्रबार
2 Min Read
Aa

विराटनगर । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सबै नेपाली जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जापान सरकारको अनुदान सहयोगमा विराटनगर महानगरपालिकामा नेपाल खानेपानी संस्थानद्वारा निर्माण हुने विराटनगर खानेपानी सुधार आयोजनाको शिलान्यासपछि आयोजित कार्यक्रममा मन्त्री राईले सबै नेपालीलाई खानेपानी पुर्‍याउन एक घर एक धाराको अवधारणा सरकारले ल्याएको बताउनुभयो । सरकारको यो अभियानलाई सफल बनाउन तीनै तहको सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

मन्त्री राईले जापान सरकारको अनुदानमा खानेपानी आयोजना सञ्चालन हुन लागेकोमा खुशी व्यक्त गर्दै आयोजना सफल बनाउन विराटनगरवासीको सहयोग आवश्यक रहेको बताउनुभयो । मन्त्रालयका सचिव सुरेशकुमार आचार्यले आयोजना सम्पन्न भएपछि विराटनगरवासीले स्वच्छ र गुणस्तरयुक्त पानी पिउन पाउने बताउनुभयो । विराटनगर महानगरपालिकाका उप–प्रमुख शिल्पा निराला कार्कीले विराटनगरको गौरवको रुपमा रहेको आयोजना सफल बनाउन महानगरको निरन्तर सहयोग रहने बताउनुभयो ।

विराटनगरमा शुरु हुन लागेको सो खानेपानी आयोजनाका निर्माण लागत २ अर्ब २९ करोड १० लाख जापानी यान रहेको छ । जापानको सिमिजु कर्पोरेटले निर्माण गर्न लागेको आयोजना २०२६ को ३१ मे मा सम्पन्न हुने छ । आयोजनाको ठेक्का सम्झौता २०२४ को अप्रिल २६ मा भएको थियो । आयोजना सम्पन्न भएपछि १ लाख जनसङ्ख्या लाभान्वित हुने र विराटनगरको १९ वटा वडामध्ये १ देखि १६ नम्बर वडासम्म आयोजना विस्तार हुने नेपाल खानेपानी संस्थान संस्थागत सेवा महाशाखा प्रमुख कमल थापाले बताउनुभयो ।

आयोजना सञ्चालनमा आएपछि दैनिक २ करोड लिटर पानी उत्पादन र फिल्टर हुने जनाइएको छ । विराटनगरमा पटक पटक खानेपानीको समस्या हुन थालेपछि जाइकाको सो आयोजना सञ्चालन हुन लागेको हो । यसैगरि जापान सरकारको अनुदानमा पोखरामा ४ अर्ब ८१ करोडको लागतमा खानेपानी आयोजना निर्माण भएको र सो आयोजना हस्तान्तरण हुने क्रममा रहेको महाशाखा प्रमुख थापाले बताउनुभयो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array