बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ असार २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्न बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचना खारेज गर्न माग गरिएको छ । ‘अहिलेजस्तो विद्युत प्राधिकरण अन्तर्गत एउटा सहायक कम्पनीबाट यो बन्न सक्दैन । त्यो भनेको नबनाउने कुरा हो । आलटाल गर्दै गएर यो अब बन्न सकेन भनेर जुन चलखेलका आशंका हिजोदेखि भएका थिए, त्यसलाई बल पुर्‍याउने गरी यसलाई तुहाउने अथवा बनाइहालियो भनेपनि सानो जलविद्युत आयोजनाको रुपमा बनाउने,’ उनले भने ।

त्यस्तै, प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका कामहरू तिब्रताका साथ अगाडि बढाउन माग गरिएको छ । आयोजना प्रभावित नागरिकहरूका जायज मागहरूलाई पनि यथाशिघ्र सम्बोधन गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ । भट्टराईले आफूहरूको माग भदौ महिनाभित्र पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिए । प्रधानमन्त्री प्रचण्डलाई माग पत्र बुझाउन डा। भट्टराई पार्टीका नेता र गोरखाका सांसदहरुसहित सिंहदरबार पुगेका थिए । सो टोलीमा सहभागी नेसपा नेता मानुषी यमी भट्टराईले बुढीगण्डकी बहुउद्देश्यीय आयोजनाको काम भदौ मसान्तभित्र सुरु गर्न सरकारलाई अल्टिमेटम दिइएको जानकारी दिइन् । काम सुरु नभए सशक्त आन्दोलन गर्ने जानकारी पनि प्रधानमन्त्री प्रचण्डलाई गराइएको उनले बताइन् । ‘भदौसम्म पनि यसलाई सरकारले गम्भिरतापूर्वक नलिएमा असोज १ देखि आन्दोलनकै रुपमा जाने चेतावनी दिएका छौं,’ मानुषीले भनिन् ।

उनका अनुसार बुढीगण्डकी आयोजनामा सरकारको खर्च बढेको बढ्यै भए पनि प्रगती एकदमै न्यून छ । त्यसैले यसलाई तत्काल काम अघि नबढाए आयोजना ‘कोल्याप्स’ हुने खतरा रहेको उनले बताइन् । प्रधानमन्त्री प्रचण्डलाई मागपत्र बुझाउनु अघि डा. भट्टराईले गोरखाका नेता, सांसद र स्थानीयसँग पनि यसबारे छलफल गरेका थिए । ‘उहाँहरु सबैको सल्लाह सुझाव लिएर मागहरु प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको छ,’ मानुषीले भनिन्, ‘प्रधानमन्त्री ज्यूले चाहिँ मलाई तपाईंको सल्लाह चाहिएको बेला तपाईंले नै गम्भीरतापूर्वक ल्याएपछि काम गर्न मलाई सहयोग नै गर्छ भन्नुभएको छ ।’

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array