धान दिवसको अवसरमा “धान रोपाई, धान खेतमा माछा एवं हाँस पालन शुभारम्भ” कार्यक्रम

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ असार २०८१, आईतवार
4 Min Read
Aa

काठमाडौं, २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई र एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय प्युठानको आयोजना, जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा प्रभात सक्रिय महिला कृषक समूह प्युठानको समन्वयमा प्युठान नगरपालिका वडा नं. ०८ स्थित गेजवाङमा समूहकी अध्यक्ष बसन्ता के.सी.को अध्यक्षता, जिल्ला समन्वनय समिति प्युठानका प्रमुख धरम बहादुर जि.सि.को प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालको विशिष्ट आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापा, एकाई प्रमुख चुमानसिंह गिरी, पशुपंक्षि विकास कार्यालयका प्रमुख उमेश चन्द्र श्रेष्ठ, जिल्ला स्थित सुरक्षा निकाय र अन्य कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधीहरु, सञ्चारकर्मी, कृषकवर्ग लगायत १२७ जनाको उपस्थितिमा “धान रोपाई, धान खेतमा माछा एवं हाँस पालन शुभारम्भ” कार्यक्रम संचालन गरिएको थियो ।

 जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले विभिन्न कृषि कर्महरु गर्दा एकअर्कामा सामाजिक सद्‍भाव र पारस्परिक सद्‍भाव बढ्ने, मानसिक स्वास्थ्य प्रवर्धन हुनुका साथै धान दिवस नेपालीको संस्कृतिसँग समेत जोडिएको कुरा व्यक्त गर्दै उपस्थित सम्पुर्णमा कार्यक्रमको अन्त्यसम्म सक्रिय सहभागिताको अपेक्षा सहितको स्वागत मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाईका प्रमुख चुमानसिंह गिरीले नेपाल कृषि प्रधान देश भएको, GDP मा कृषि क्षेत्रको योगदान २४% रहेको जसमा धानको योगदान ५/६ % रहेको र कृषि नेपालको सामाजिक, साँस्कृतिक, आर्थिक हिसाबले महत्वपुर्ण क्षेत्र रहेको तर जलवायु परिवर्तनले धान तथा कृषि उत्पादनमा विभिन्न किसिमका समस्या र चुनौतीहरु थपिएका तर उपलव्ध प्रविधिहरुको समुचित प्रयोग गर्दै व्यवसायिक उत्पादनामा जोड दिनुपर्ने, धानमा लाग्ने किरा र उम्रने अनावश्यक झारको समाधानको लागि माछा र हाँस खेतमा छाड्न सकिने, जसले गर्दा धान उत्पादनमा वृद्धि हुनुका साथै माछा र हाँसबाट समेत आयआर्जन गरी दोहोरो लाभ लिन सकिने कुरा व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी पशुपंक्षि विकास कार्यालयका प्रमुख उमेश चन्द्र श्रेष्ठले कृषि प्रधान देश भएर पनि आयातमा निर्भर हुनु पर्ने विडम्बनापूर्ण अवस्था रहेकोमा यसको प्रतिस्थापन गर्न तथा कृषि उत्पादन बढाउन सरकारले विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको कुरा जानकारी गराउदै अब असारे धानमा मात्र निर्भर नभई चैते धान उत्पादनमा समेत ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले कृषि उत्पादनमा अपेक्षित लाभ प्राप्त हुन नसकेका कारण कृषि क्षेत्रमा लाग्ने कृषकहरुको संख्या घट्दै गईरहेको अवस्थामा कृषिमा हुने क्षतिबाट जोगाउन र व्यवसायिक रुपमा खेतीमा लाग्न विभिन्न विधिहरु उपलव्ध रहेको त्यसको एउटा रुप खेतमा माछा तथा हाँस पालन गरी उत्पादन बढाउन सकिने यो अभ्यास प्युठान जिल्लामा पहिलो पटक सुरुवात भएको बताउनु भएको थियो । त्यसैगरी सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको कुरा जानकारी गराउँदै प्युठानको विकट भौगोलिक अवस्था, सिँचाई सुविधा, मलको व्यवस्था, साधनश्रोत, जनशक्ति नहुनु प्रमुख चुनौतीको रुपमा रहेको र यि चुनौतिहरुलाई चिर्दै व्यवसायिक खेतीमा लाग्न ध्यानाकर्षण गराउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जि.सी., पत्रकार महासंघ जिल्ला कार्यसमिति प्युठानका अध्यक्ष संजय रिजाल, राजनैतिक दलका प्रतिनिधिहरु समेतले मन्तव्य राख्नुका साथै उपस्थित सम्पुर्णले धान रोप्नु भएको थियो । धान रोपिएको खेतमा माछाका भुरा र हाँसका बच्चाहरु छोडिएको थियो । त्यसैगरी प्युठान जिल्लाका कृषकहरुले गरेका असल कामको श्रव्यदृष्य सामग्रीहरु प्रदर्शन गर्दै कृषिको विभिन्न विधाका उत्कृष्ट २२ जना कृषकहरुलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको थियो भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई र एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय प्युठानद्वारा आयोजना गरिएका विभिन्न किसिमका कृषि सम्बन्‍धी कार्यक्रमहरुमा जिल्ला प्रहरी कार्यालय प्युठानले गरेको  समन्वय तथा सहकार्यका लागि प्रहरी नायव उपरीक्षक इश्‍वर थापालाई समेत सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको अध्यक्ष तथा प्रभात सक्रिय महिला कृषक समूह प्युठानकी अध्यक्ष बसन्ता के.सी.ले कार्यक्रममा उपस्थित सम्पुर्णलाई धान दिवसको शुभकामना दिँदै आयोजक र उपस्थित सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै उक्त कार्यक्रम १५:४५ बजेको समयमा समापन गर्नु भएको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array