हाल (शनिबार साँझ) कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति पनि कोसी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान, कोसी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले शनिबार साँझ ६ बजे जनाएको छ। उच्च सतर्कता अपनाउन आग्रह हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ। महाशाखाका अनुसार विगत २४ घण्टामा विशेष गरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। त्यस्तै गण्डकी प्रदेशका स्याङ्जा, कास्की, पर्वत आसपास तथा लुम्बिनी प्रदेशका पाल्पा, दाङ, अर्घाखाँचीलगायत स्थानमा अति भारी वर्षा (२०० मिलिमिटरभन्दा बढी) समेत भएको छ। पाल्पाको कुमालगाउँमा त ४०० मिलिमिटरभन्दा पनि बढी वर्षा मापन भएको छ। मौसम महाशाखाले सचेत गराउँदै भनेको छ- ‘अझै पनि वर्षा हुने सम्भावना रहेकाले आज र भोलि विशेष उच्च सतर्कता अपनाउन हुन अनुरोध छ।’


प्रतिक्रिया दिनुहोस्