विभिन्न आठ पहिचानवादी घटक पहिचानवादी मोर्चामा आवद्ध, तेस्रो जनआन्दोलन गर्ने चेतावनी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ श्रावण २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौं,  प्रा.डा. महेन्द्र लावती नेतृत्वको पहिचानवादी मोर्चामा विभिन्न आठ पहिचानवादी घटकहरु आवद्ध भएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले पहिचानवादी मोर्चामा आवद्ध भएको जानकारी गराएका हुन् । गोपाल किराँती नेतृत्वको तेस्रो जनआन्दोलन तयारी समिति, डा. मित्र परिवार अध्यक्ष रहेको काष्ट वाच नेटवर्क, कृष्ण चेङ्वाङ इन्चार्ज रहेको लिम्बु संघ (समाजवादी), बुद्धराज स्याङ्तान अध्यक्ष रहेको संघीय ताम्सालिङ पार्टी, मलम लामा महासचिव रहेको राष्ट्रिय टे«ड युनियन महासंघ, पासाङ मोक्तान संयोजक रहेको ताम्सालिङ गणराज्य, लोकेन्द्रराज थापा संयोजक रहेको खसान गणराज्य र खड्गबहादुर श्रेष्ठ संयोजक रहेको नेवाः गणराज्य पहिचानवादी मोर्चामा आवद्ध भएका हुन् ।

पहिचानवादी मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीले छरिएर रहेका पहिचानवादी शक्तिहरुलाई एक ठाउँमा ल्याउनु मोर्चाको मूल लक्ष्य रहेको बताए । उनले पहिचानवादी मोर्चालाई दुई चरणमा मोर्चाबन्दी गरिने पनि बताए । प्रा.डा. लावतीले पहिलो चरणमा पहिचानवादी मोर्चामा सबैलाई आवद्ध गराएर आन्दोलनमो तयारी थालिने र दोस्रो चरणमा पहिचानवादी मोर्चामा आवद्धहरुलाई एउटै चुनाव चिन्हमार्फत निर्वाचनमा सहभागी गराउने बताए ।
‘हामीले पहिचानवादी मोर्चा दुई चरणमा मोर्चा बन्दी गर्दैैछौं । पहिलो चरणको मोर्चा आन्दोलनको लागि हुनेछ । दोस्रो चरणको चुनावी मोर्चा हुनेछ । सबै पहिचानवादी शक्तिहरुलाई एक ठाउँमा ल्याएर साझा चुनाव चिन्ह लिएर हामी स्थानीय, प्रदेश र संघको चुनावमा जानेछौं,’– उनले भने ।

साथै, नव गठित काङ्ग्रेस–एमाले गठबन्धनबाट प्रनितिधिमूलक दलीय व्यवस्थालाई सङ्कुचित पार्ने, समानुपातिक निर्वाचन प्रणाली हटाउने र प्रतिगमनकारी प्रयास भइरहेको मोर्चाको दाबी छ । यस्तो दुस्साहस भएमा यस मोर्चाले अन्य पहिचानवादी शक्तिहरूसँग मिलेर तेस्रो जनआन्दोलन सुरुगर्ने चेतावनी दिएको छ ।
मोर्चाले भुटानी शरणार्थी काण्ड, गिरिबन्धु टि–स्टेट काण्ड, सहकारी काण्ड र सुन काण्डमा संलग्न र तिनका नाइकेहरूलाई कारबाही गरी कडाभन्दा कडा सजाय दिन र भ्रष्ट्राचारबाट कमाएका सम्पत्ति जफत पनि सरकारसँग माग गरेको छ । मोर्चा विस्तार कार्यक्रममा पहिचानवादी मोर्चाका संयोजक प्रा.डा. लावतीसहित अन्य आठ घटकहरुका प्रमुखहरु संलग्न थिए ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्