डोनाल्ड ट्रम्पको हत्या प्रयासलाई रोक्न एजेन्सी ‘असफल’ भएको स्वीकार : निर्देशक

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ श्रावण २०८१, मंगलवार
3 Min Read
Aa
BUTLER, PENNSYLVANIA - JULY 13: Republican presidential candidate former President Donald Trump is rushed offstage by U.S. Secret Service agents after being grazed by a bullet during a rally on July 13, 2024 in Butler, Pennsylvania. (Photo by Anna Moneymaker/Getty Images)

वासिङ्टन । अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासलाई रोक्न एजेन्सी आफ्नो मिसनमा ‘असफल’ भएको स्वीकार गर्नुभएको छ । “हाम्रा मुलुकका नेताहरूको रक्षा गर्नु सिक्रेट सर्भिसको एकमात्र मिसन हो”, निरीक्षण र जवाफदेहितासम्बन्धी सदन समितिको सुनुवाइमा उहाँले भन्नुभयो, “जुलाई १३ मा हामी असफल भयौँ, संयुक्त राज्य अमेरिकाको सिक्रेट सर्भिसको निर्देशकका रूपमा म कुनै पनि सुरक्षा त्रुटिका लागि पूर्ण जिम्मेबारी लिन्छु ।”

राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीको आह्वानको सामना गर्नुभएका चिटलले ट्रम्पको हत्या प्रयास ‘दशकौँमा सिक्रेट सर्भिसको सबैभन्दा महत्त्वपूर्ण परिचालन असफलता थियो’ भन्नुभयो । एक चुनावी र्यालीमा बोल्ने क्रममा ट्रम्पको कानमा सामान्य चोट लागेको थियो । रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति एवं ह्वाइट हाउसका लागि वर्तमान उम्मेदवार ट्रम्पले पेन्सिलभेनियाको बटलरमा चुनावी कार्यक्रममा बोल्न सुरु गरेको केही मिनेटपछि नै २० वर्षीय बन्दुकधारी थोमस म्याथ्यु क्रुक्सले एआर–स्टाइल राइफलले उहाँमाथि गोली चलाएका थिए ।

आठमध्ये पहिलो गोली चलाएको २६ सेकेन्डपछि सिक्रेट सर्भिस स्नाइपरले क्रुक्सलाई गोली हानी मारेका थिए । बटलरबाट करिब ५० माइल टाढाको सहरमा बस्ने क्रुक्सले एक्लै काम गरेको र कुनै पनि बलियो वैचारिक वा राजनीतिक झुकावको पहिचान गर्न नसकेको अनुसन्धानकर्ताहरूले निर्धारण गरेका छन् ।

गोली हानाहानमा र्यालीमा सहभागी दुई जना गम्भीर घाइते भएका छन् र पेन्सिलभेनियाको फ्रिपोर्ट निवासी ५० वर्षीय अग्निशमनकर्ता कोरी कम्पेरेटरको गोली हानी हत्या भएको थियो । “यो त्रासदीलाई रोक्न सकिन्थ्यो । निर्देशक चिटल, तपाईंले राजीनामा दिनुपर्छ भन्ने मेरो दृढ विश्वास छ”, हत्या प्रयासमाथि सुनुवाइ प्रारम्भ गर्दै रिपब्लिकन कमिटीका अध्यक्ष जेम्स कमरले भन्नुभयो, “सिक्रेट सर्भिसको सुरक्षात्मक मिसन भनेको अमेरिका भ्रमणमा आएका विश्व नेताहरूको सुरक्षा गर्नु र उम्मेदवार तथा उम्मेदवारी दर्ता गरेका व्यक्तिहरूको सुरक्षामार्फत अमेरिकी निर्वाचनको सुरक्षा गर्नु हो ।”

“सिक्रेट सर्भिसको शून्य–असफल मिसन छ तर जुलाई १३ मा र र्यालीका अगाडिका दिनहरूमा यो असफल भयो”, उहाँले भन्नुभयो, “एजेन्सी अब अक्षमताको अनुहार बनेको छ ।” ओहायोबाट रिपब्लिकन सांसद प्रतिनिधि माइकल टर्नरले पनि चिटललाई राजीनामा दिन आग्रह गर्नुभयो । “तपाईंले राजीनामा मात्र होइन, तपाईंले राजीनामा दिन अस्वीकार गर्नुभयो भने राष्ट्रपति जो बाइडेनले तपाईंलाई बर्खास्त गर्नुपर्छ । किनकी तपाईंले रक्षा गर्ने उहाँको जीवन, डोनाल्ड ट्रम्पको जीवन र अन्य सबैको जीवन खतरामा छ ।”

ट्रम्पका पूर्वचिकित्सकले साताको अन्त्यमा उहाँको दाहिने कानमा दुई सेन्टिमिटर बन्दुकको गोली लागेको घाउ अहिले ठिक हुँदै गएको बताउनुभयो । पेप्सिकोका लागि उत्तरी अमेरिकामा सुरक्षा प्रमुख बन्न सन् २०२१ मा जानुअघि चिटलले २७ वर्षसम्म सिक्रेट सर्भिस एजेन्टका रूपमा काम गर्नुभएको थियो । उहाँलाई राष्ट्रपति बाइडेनले एजेन्सीको प्रमुखमा नियुक्त गर्नुभएको थियो ।एएफपी

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्