काठमाडौं, डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ । ऊर्जामन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशकबीच मंगलबार नै विद्युत् जडान गर्ने सहमति भएको हो । मंगलबार मन्त्रालयमा भएको छलफलमा बक्यौता रहेका उद्योगीसँग रकम उठाउने गरी विद्युत् जडान गर्न कुलमान घिसिङ तयार भएको मन्त्रालयका एक अधिकारीले बताएका छन् । बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि ती उद्योगको लाइन काटेको थियो । प्राधिकरण बोर्डले गरेको निर्णयमा सञ्चालकद्वय भक्तबहादुर पुन र विपिन आचार्यले भने फरक मत राखेको ती अधिकारीले जानकारी दिए । उनीहरूले विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभई काटिएको लाइन जोड्न नहुने मत राखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले काटिएका उद्योगको लाइन तत्काल जोड्न शुक्रबार निर्देशन दिएका थिए । आइतबार र सोमबार संसदमा सम्बोधनका क्रममा लाइन जोड्नुपर्ने भन्दै उद्योगीको पक्षमा खुलेर वकालत गरेका छन् ।
उद्योगमा काटिएको बिजुली जडान गर्ने सहमति


प्रतिक्रिया दिनुहोस्