आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरिने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० श्रावण २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौँ, चौतर्फी चासोका साथ हेरिएको चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले अन्य कुरा यथावत् रहेमा शुक्रबार मौद्रिक नीति सार्वजनिक गरिने जानकारी दिनुभयो । मौद्रिक नीतिका लागि अन्य तयारी सम्पन्न भएको भन्दै उहाँले शुक्रबार बस्ने राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले तय गर्ने बताउनुभयो ।अघिल्लो वर्ष साउन ७ गते सार्वजनिक गरिएका कारण यस पटक पनि साउन पहिलो सातामै आउने अनुमान गरिएको थियो । गत शुक्रबार आउने चर्चा भए पनि सो दिन आएन ।

अर्थतन्त्र दबाबमा रहेका कारण यस पटकको मौद्रिक नीति कस्तो आउला भनेर सबैतिरबाट हेरिरहेका छन् । सेयर बजारका लगानीकर्ता मौद्रिक नीति कुरेर बसेका छन् भने निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ हेरिरहेका छन् ।समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैङ्कले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।

सामान्य रूपमा व्याख्या गर्नुपर्दा मौद्रिक नीतिले मुद्राको मूल्य निर्धारण गर्छ । त्यसले गर्दा राष्ट्र बैङ्कले सार्वजनिक गर्ने मौद्रिक नीतिले प्रत्यक्ष रूपमा सर्वसाधारण उपभोक्ता, उत्पादक वा कर्मचारी सबैलाई प्रभाव पार्छ । पुँजीलाई महँगो बनाउने कि सस्तो, राष्ट्रिय मुद्रालाई अन्तर्राष्ट्रिय मुद्राको तुलनामा बलियो बनाउने कि कमजोर जस्ता कुरा मौद्रिक नीतिमा निर्भर हुन्छ ।राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गर्नुभएको छ भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताउँदै आउनुभएको छ ।

 

gorkhapatraonline

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्