काठमाडौँ । प्रतिनिधिसभाले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । सभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक समितिमा पठाएको हो ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी राख्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।
बैठकमा सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम अपचलन सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति तथा विभिन्न विषयगत समितिमा सदस्यको नाम हेरफेरको प्रस्ताव गर्नुभयो । उक्त प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।
त्यसअघि सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा सुनाउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २० गते आइतबार दिउसो १ बजे बस्नेछ ।


प्रतिक्रिया दिनुहोस्