जापानका प्रधानमन्त्री फुमियो किशिदा द्वारा शुक्रबार मध्य एसियाको भ्रमण रद्द

Sagarmatha Post
Sagarmatha Post २५ श्रावण २०८१, शुक्रबार
2 Min Read
Aa

टोकियो । जापानमा सम्भावित ‘महाभूकम्प’को पूर्वतयारी गर्नुपर्ने भूगर्भविद्ले चेतावनी दिएपछि जापानका प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार मध्य एसियाको भ्रमण रद्द गर्नुभएको छ । जापानको दक्षिणी क्षेत्रमा ७.१ म्याग्निच्यूडको भूकम्पका कारण बिहीबार आठ जना घाइते भएपछि जापानको मौसम विज्ञान निकाय (जेएमए) ले बिहीबार परामर्श जारी गरेको हो । किशिदाले शुक्रबारदेखि कजाकिस्तान, उज्बेकिस्तान र मङ्गोलियाको भ्रमण गर्ने कार्यक्रम थियो । उहाँले क्षेत्रीय शिखर सम्मेलनमा पनि भाग लिने कार्यक्रम तय भएको थियो ।

“प्रधानमन्त्रीको हैसियतमा सङ्कट व्यवस्थापनको सर्वोच्च जिम्मेवारी भएकोले मैले कम्तीमा एक हप्ता जापानमा नै रहने निर्णय गरेँ,” उहाँले भन्नुभयो । किशिदाले सन् २०११ मा गएको ९।० म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जापानको मौसम पूर्वानुमान निकायले तयार पारेको नयाँ प्रणालीअन्तर्गत पहिलो परामर्श जारी गरेपछि जनता निकै चिन्तित भएको हुनसक्ने र यस्तो अवस्थामा विदेश जानु राम्रो नहुने निष्कर्षमा पुगेको बताउनुभएको छ । जापानको मौसम पूर्वानुमान निकायले भनेको छ, “नयाँ ठुलो भूकम्पको सम्भावना सामान्यभन्दा बढी छ, तर यो कुनै ठुलो भूकम्प पक्का आउने सङ्केत होइन ।”

दक्षिणी टापु क्युशुमा बिहीबार गएको भूकम्पका कारण ट्राफिक बत्ती र कारहरू हल्लिएका थिए र भाँडाकुँडाहरू अलमारीबाट खसेका थिए, तर कुनै गम्भीर क्षति भने भएको छैन । आगलागी तथा विपद् व्यवस्थापन निकायले भूकम्पका कारण ठुलो क्षति नपुगेको तर केही व्यक्ति घाइते भएको जनाएको छ । चारवटा प्रमुख टेक्टोनिक प्लेटको टुप्पोमा रहेको १२ करोड ५० लाख जनसङ्ख्या रहेको जापानी द्वीप समूहमा साना ठुला गरी हरेक वर्ष करिब एक हजार ५०० वटा भूकम्प आउने गरेका छन् ।

उन्नत भवन प्रविधि र राम्रो आपतकालीन उद्धार अभ्यासका कारण ठुला कम्पनमा पनि प्रभाव सामान्य रहनु जापानी विशेषता हो । सरकारले आगामी ३० वर्षमा महाभूकम्प जाने सम्भावना ७० प्रतिशत रहेको बताएको छ । यसले जापानको प्रशान्त महासागरीय तटको ठूलो भूभागलाई प्रभावित गर्न सक्ने र सबैभन्दा खराब अवस्थामा अनुमानित तीन लाख मानिसहरूको ज्यान जोखिममा पार्न सक्ने विज्ञहरूले बताएका छन् । रासस/एएफपी

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्