बंगलादेशमा हिन्दु समुदायमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन,हिन्दु समुदायको सुरक्षाको माग

Sagarmatha Post
Sagarmatha Post २६ श्रावण २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं, बंगलादेशको राजधानी ढाकाको शाहबाग क्षेत्रमा हिन्दु समुदायमाथि भएको आक्रमणको विरोधमा धेरै संगठनले प्रदर्शन गरेका छन्। बीबीसी बांग्लाका अनुसार शुक्रबार दिउँसो हजारौँ हिन्दुले शाहबागमा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले बंगलादेशका विभिन्न भागमा हिन्दुका घर र अन्य सम्पत्तिमा भइरहेको आक्रमणको विरोध गरेका थिए। आन्दोलनरत संगठनहरूले हिन्दु समुदायको सुरक्षाको माग गरेका छन्।

जातीय हिन्दु महाजोतलगायत सनातन धर्मका विभिन्न संघसंस्थाले आज (शनिबार) दिउँसो ३ बजेका लागि सोही स्थानमा अर्को जुलुसको आह्वान गरेका छन्। बंगलादेश हिन्दु बौद्ध क्रिश्चियन एकता परिषद्का अनुसार अगस्ट ५ पछिका ३ दिनमा बंगलादेशका खुलना, बागेरहाट, पटुआखाली, शरियतपुर, फरीदपुरलगायत कम्तीमा २९ जिल्लामा अल्पसंख्यक समुदायका घर, व्यवसाय र पूजास्थलमा तोडफोड र लुटपाट भएका छन्।

संगठनहरूले हिन्दु समुदायविरुद्ध भएका यी आक्रमणमा धेरै मानिस घाइते भएको बताएका छन्। स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी जागिरमा दिने गरिएको आरक्षणको विरोधमा भइरहेको विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि यही अगस्ट ५ का दिन प्रधानमन्त्री पदबाट राजीनामा दिँदै शेख हसिना देशै छाडेर भागेकी छन्। अहिले उनी भारतमा छिन्।

गत बिहीबार मात्र त्यहाँ नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्