राज्यको सर्वाङ्गीण विकासमा युवाहरूको  विशेष योगदानका लागि नीति आवश्यक : राष्ट्रपति

Sagarmatha Post
Sagarmatha Post २८ श्रावण २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गीण विकासमा युवाहरूको  विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताउनुभएको छ ।  राजधानीमा सोमवार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित युवा सम्मेलन, २०२४ लाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सङ्घीयता, सूचना प्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो– ‘राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गरी युवाको सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकुद तथा मनोरञ्जनलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न जरुरी छ ।’

युवा जनशक्तिको कुरा गर्दा दिनानुदिन विदेश पलायन भइरहेको शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भीर बनेर आएको बताउँदै उहाँले हामीसँग यति धेरै प्राकृतिक सम्भावनाहरू छन्, तीनलाई समुचित ढंगले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भतारिन पर्ने छैन भन्नुभयो । “यसका लागि हाम्रा स्रोत र सम्भावना अनुरूपको सीप र लगनशीलताको निर्माण र राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकूल स्वाभिमानी र स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता हो,”राष्ट्रपति पौडेलले भन्नुभयो ।

राष्ट्रपति पौडेलले युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउँदै भन्नुभयो– ‘साहस, सिर्जनशीलता, उत्सुकता एवं उच्च आत्मविश्वासका कारण यो समूहलाई राष्ट्र निर्माणको प्रमुख स्रोत मानिन्छ । तसर्थ राष्ट्रको समग्र विकास र परिवर्तनमा युवाको अहम् भूमिका रहन्छ । परापूर्वकालदेखि नेपाली युवाले साहसी, योद्धा, वीरताको प्रतीक तथा विकास र परिवर्तनको संवाहकको रुपमा भूमिका निर्वाह गर्दै आएका छन् ।’

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्