खुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरहरू बगायो, तटीय क्षेत्रमा जोखिम

Sagarmatha Post
Sagarmatha Post ३२ श्रावण २०८१, शुक्रबार
1 Min Read
Aa

सोलुखुम्बु । खुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरहरू बगाएको छ । दुधकोशी तटीय क्षेत्रमा जोखिम हिमताल फुट्दा सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउँपालिका–५ थामेका केही घरहरू बगाएको हो । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको शिरमा रहेका कही हिमताल फुट्दा थामे बस्तीका केही घर र होटल बगाएको हो । थामे खोलाको शिरमा रहेका हिमताल फुटेर बाढी आएको खुम्बु पासाङ ल्हमु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिनुभयो । उक्त क्षेत्रमा सञ्चार सम्पर्क पनि स्थापित हुन नसकेकाले कति वटा ताल फुटे भन्ने यकिन विवरण आउन कठिन भइरहेको प्रवक्ता शेर्पाले बताउनुभयो ।

सिङ्गो थामेमा बाढी पसेको र एउटा होस्टल र २ वटा होटल पूर्ण रुपमा बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। थामेको बाढी दुधकोशीमा मिसिएसँगै दुधकोशी तटीय क्षेत्रमा जोखिम रहेको प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले बताउनुभयो । तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन प्रशासनले अपिल गरेको छ । दुधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिकहरूमा त्रास बढेको हो । बाढीले के कति मानवीय क्षति पुर्‍यायो भन्ने यकिन भने हुन सकेको छैन ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्