प्रथम श्रेणी वा सो सरहका ५९ जना सहसचिवहरूको सरुवा

Sagarmatha Post
Sagarmatha Post ३२ श्रावण २०८१, शुक्रबार
2 Min Read
Aa

सरकारले ५९ जना राजपत्राङ्कित प्रथम श्रेणी सहसचिवहरूको सरुवा गरेको छ । साउन ३१ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरूबारे जानकारी दिन आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव वा सो सरहका ५९ जना कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको बताउनुभयो । सरकारले काभा महिला भलिबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ प्रदान गरी सम्मान गर्न स्वीकृति दिएको छ । यस्तै, मुख्य प्रशिक्षक १ जनालाई २ लाख तथा व्यवस्थापक १, सहायक प्रशिक्षक १ र फियो १ जना गरी ३ जनालाई जनही १ लाख २० हजारका दरले पुरस्कृत गर्न स्वीकृति दिएको सञ्चार मन्त्री गुरुङले बताउनुभयो ।

मन्त्रिपरिषद्को बैठकले राजश्व न्यायाधिकरण पोखराको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शन पाण्डेलाई तोक्ने निर्णय गरेको छ । यस्तै, सरकारले विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय बिकास संस्थाबाट १५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्ताबेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगत विभिन्न आयोजना कार्यान्वयन गर्न चालु आर्थिक वर्षका लागि ४१ वटा राजपत्राङ्कित अधिकृत स्तरका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको पनि सञ्चार मन्त्री गुरुङले जानकारी दिनुभयो । यस्तै, मन्त्रिपरिषद्को बैठकले उच्च स्तरमा हुने विभिन्न वैदेशिक भ्रमणहरू स्वीकृत गर्नुसँगै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायधिवक्ता श्रीराम खनाललाई नेपाल कानुन वसायी परिषद्को सचिव पद्मा खटाउने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री गुरुङले बताउनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्