शान्ति प्रकियाको पूर्णताका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने :बेलायतका राजदूत रोब फेन

Sagarmatha Post
Sagarmatha Post ३२ श्रावण २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाण्डौं, पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन् । शुक्रबार बिहान खुमलटारमा भएको भेटमा राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगोमा पुर्‍याउन लागेकोमा खुसी व्यक्त गर्दै शान्ति प्रकियाको पूर्णताका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने बताए ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको जानकारी दिए । उनले पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक पर्ने क्षेत्रमा बेलायत सरकारको सहयोग रहने विश्वास पनि व्यक्त गरे । उनले आफू सरकारको नेतृत्वमा रहँदा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अघि बढाउन पहल लिएको जानकारी दिँदै विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्वशान्तिका निम्तिसमेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।

आफ्नो प्रधानमन्त्रीत्वकालमा अन्तरार्ष्ट्रिय सम्बन्ध सुदृढ गर्न विशेष पहल लिएको स्मरण गर्दै प्रचण्डले जलवायु न्याय लगायतका क्षेत्रमा नेपालले नेतृत्वदायी भूमिका खेलेको बताए । भेटका क्रममा अध्यक्ष प्रचण्डले गोर्खा सैनिकहरुले उठाउँदै आएका सवाल बेलायती सरकारबाट सम्बोधन हुने विश्वाससमेत व्यक्त गरे । भेटमा राजदूत फेनले अध्यक्ष प्रचण्डको बलमा शान्ति प्रक्रियाले पूर्णता पाएकोमा बधाइ दिँदै नेपालका लागि आवश्यक सहयोगमा बेलायतको सधैँ सहयोग रहने बताए ।

त्यसक्रममा फेनले बेलायती नागरिकहरूमा नेपाली उत्पादनप्रति रूचि बढेको बताए । उनले पारस्परिक सहयोग र व्यापारमा समेत नेपालसँग साझेदारी बढाउन सकिनेमा जोड दिए । प्रचण्डको कार्यकालमा लगानीअनुकूल कानुन संशोधन र लगानी सम्मेलन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै उनले नेपालमा वैदेशिक लगानी भित्राउन आफ्नो योगदान रहने प्रष्ट पारे ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्