लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदै

Sagarmatha Post
Sagarmatha Post ४ भाद्र २०८१, मंगलवार
1 Min Read
Aa

लुम्बिनी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री आचार्यले आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् । नेकपा (एमाले)का संसदीय दलका उपनेता रहेका आचार्य नेपाली कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । उनलाई आज सात वटा राजनीतिक दलले विश्वासको मत दिने भएका छन्  । ११ वटा दल क्रियाशील रहेको लुम्बिनी प्रदेशमा ८७ जना सांसद छन् । जसमध्ये एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन् ।

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन कांग्रेस, एमाले लगायतका दलले ह्विप जारी गरेका छन् । त्यस्तै, उनले जनमत, लोसपा, जसपा, जसपा नेपाल र नाउपाको पनि विश्वासको मत पाउँने भएका छन् । मन्त्रीपरिषद्मा अहिले एमालेबाट मुख्यमन्त्रीसहित पाँच र कांग्रेसबाट चार जना मन्त्री रहेका छन् । लुम्बिनीमा जनमतका तीन, लोसपाका तीन, जसपाका दुई, जसपा नेपालका एक र नाउपाका चार सांसद रहेकाले उक्त दलले विश्वासको मत दिएमा आचार्यले दुई तिहाइ समर्थन प्राप्त गर्ने देखिएको छ । संसदबाट आज विश्वासको मत पाएपछि उनले सरकार विस्तार गरेर १२ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्