जर्मनीको एक उत्सवमा छुरा आक्रमण हुँदा तीन जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाइते

Sagarmatha Post
Sagarmatha Post ८ भाद्र २०८१, शनिबार
1 Min Read
Aa

सोलिनजेन (जर्मनी) । पश्चिमी जर्मनीको सोलिनजेन सहरमा शुक्रबार आयोजित एक उत्सवमा छुरा आक्रमण हुँदा तीन जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ  । प्रहरीले संदिग्ध आक्रमणकारीको खोजी जारी राखेको बताएको छ ।  “अहिलेसम्म आतङ्ककारीबारे कुनै विस्तृत विवरण छैन, प्रहरीले फोटो र भिडियोसहित अनलाइन पोर्टलमार्फत शुक्रबार राती भएको आक्रमणको जानकारी खोजिरहेको छ”,डुसेलडोर्फ सहरका एक प्रहरी प्रवक्ताले बताउनुभयो । आक्रमणको लगत्तै विशेष प्रहरी बलको टोली हेलिकप्टरसहित घटनास्थलमा पुगेको थियो ।

आक्रमणकारीले “मानिसहरूलाई अन्धाधुन्ध छुरा प्रहार गरेको” बिल्ड दैनिकले जनाएको छ ।  सोलिनजेन सहरको ६५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित महोत्सवमा यो आक्रमण भएको हो ।सोलिनजेनका मेयर टिम–ओलिभर कुर्जबाचले घटनाबाट सम्पूर्ण सहर स्तब्ध भएको बताउनुभयो । “हामी सबै मिलेर सहरको वार्षिकोत्सव मनाउन चाहन्थ्यौँ तर अहिले यस अप्रिय घटनामा मृत्यु हुनेप्रति शोक व्यक्त गरिरहेका छौ”, कुर्जबाचले भन्नुभयो । कुर्जबाचले घटनास्थलमा गरेको कामको लागि आपतकालीन सेवालाई धन्यवाद दिनुभयो र आक्रमणको प्रत्यक्षदर्शीप्रति सहानुभूति प्रकट गर्नुभएको छ । रासस /एएफपी

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्