युवा राज्यमन्त्रीद्वारा बस दुर्घटनाका घाइतेहरूको उपचारप्रति सन्तोष व्यक्त

Sagarmatha Post
Sagarmatha Post ८ भाद्र २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौँ । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले मर्स्याङ्दी नदी किनारामा भएको भारतीय पर्यटक सवार बस दुर्घटनाका घाइतेहरूको उपचारप्रति सन्तोष व्यक्त गर्नुभएको छ । शुक्रबार बिहान करिब ११ः३० बजे भारतीय पर्यटक सवार बस सडकमा अनियन्त्रित भई मर्स्याङ्दी नदी किनारामा दुर्घटना भएको थियो । दुर्घटनामा परि २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइते सबैको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । सो घटनापछि शनिबार नेपाल आउनुभएको भारतीय राज्यमन्त्री खड्सेले शिक्षण अस्पताल पुगेर घाइतेहरूको अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

त्यसपछि उहाँ सिंहदरबारस्थित गृह मन्त्रालयमा पुग्नुभएको थियो । गृहमन्त्री रमेश लेखकसँगको भेटमा राज्यमन्त्री खड्सेले दुर्घटनापछि लगत्तै उद्धार हुन सकेको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभएको हो ।उहाँले उद्धारमा संलग्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सक्रियताका कारण केही व्यक्तिहरूलाई बचाउन सकिएको भन्दै प्रशंसा गरेको जानकारी दिनुभयो । राज्यमन्त्री खड्सेले आफू शिक्षण अस्पताल पुगेर बिरामीसँग बुझ्दा उपचार राम्रोसँग भइरहेको उहाँले उल्लेख गर्नुभयो । राज्यमन्त्री खड्सेले अब चितवन जाने र शव भारत लिएर जाने मन्त्री लेखकले बताउनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्