उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

Sagarmatha Post
Sagarmatha Post १३ भाद्र २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौं, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित ५ जनाले उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। भदौ २६ गतेबाट अनिवार्य अवकाश हुन लागेका एआईजी ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले रिट दायर गरेका हुन्। उनीहरूले उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेको भन्दै त्यसलाई रोक्न अन्तरिम आदेश माग गरेका छन्। रिटमा बिहीबारलाई पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। यसअघि नेपाल प्रहरीका डीआईजी विष्णुकुमार केसीसहित २१ जनाले सर्वोच्च अदालतमै ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै रिट दायर गरेका थिए।

उनीहरूको पक्षमा सर्वोच्चले अन्तरिम आदेश दिएपछि एआईजी ज्ञवालीसहितका अधिकारीहरू पनि अवकास रोक्न माग गर्दै सर्वोच्च पुगेका हुन्। तर उक्त आदेशविरुद्ध सरकारले भ्याकेट निवेदन दिएको छ। यसअघिको अन्तरिम आदेश बदर भए ८९ जना अधिकारीहरू पनि भदौ १६ गतेबाट अवकाशमा जानेछन्। एआईजीको ५६ वर्षे उमेर हदका कारण एआईजी श्यामलाल ज्ञवाली भदौ १६ गते अवकाश हुँदैछन्। उनले ३० वर्ष पनि नेपाल प्रहरीमा जागिर खान नपाउने भएका हुन्। मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरले पनि असोज १४ गते अवकाश हुनेछन्। डीआईजी राजेशनाथ वास्तोला कात्तिक ११ गते र केदार ढकाल मंसिर २२ गते अवकाश हुनेछन्।

उनीहरूलाई प्रहरी किताबखानाले अवकाशको पत्र पनि थमाइसकेको छ। अवकाशको पत्र पाइसकेका उनीहरूलाई त्यसलाई कार्यन्वयनमा रोक लगाउन सर्वोच्चको आदेश माग गरेका हुन्। उनीहरूले ऐनमा नै तत्काल संशोधन गरी हाल कायम रहेको पदीय हैसियतका आधारमा उमेरको गणना गरी अवकाश दिने व्यवस्था हटाउन परमादेश माग गरेका छन्। उनीहरूले यो रिटको अन्तिम टुंगो नलागेसम्म, ऐनमा व्यवस्था नभएसम्म आफूहरूलाई काममा निरन्तरता दिन अन्तरिम आदेश पनि माग गरेका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्