टीआरसी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण, ९ देशले गरे टीआरसी विधेयकको स्वागत

Sagarmatha Post
Sagarmatha Post १३ भाद्र २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेपालको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विभिन्न ९ वटा देशले स्वागत गरेका छन् । संयुक्त राज्य अमेरिका, स्विजरल्याण्ड, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत, नर्वे, जापान, फिनल्याण्ड, जर्मनी, फ्रान्स र युरोपियन युनियनले संयुक्त वक्तव्य प्रकाशित गरी टीआरसीसम्बन्धी ऐनको स्वागत गरेका हुन्। ‘निर्णय प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउने’ ती देशको विश्वास छ। विश्व समूदायले ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउने प्रतिवद्धतासमेत जाहेर गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले अगाडीको मार्ग पहिल्याउँदै गर्दा, हामी निम्नानुसारका हस्ताक्षरकर्ता पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्‍याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने छौँ। निर्णय प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउनेछ।’ साथै, उनीहरूले भविष्यमा चाल्नुपर्ने सम्भावित कदमहरूको सम्बन्धमा मूल्याङ्कन गर्न सकियोस् भनी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन के–कस्ता विशेष आवश्यकताहरू छन् भन्ने विषयमा नेपाल सरकारबाट जान्न तत्पर रहेको उल्लेख गरेका छन्।

नेपालको इतिहासको यस खण्डलाई सफल निष्कर्षमा पुर्‍याउन सबै सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने बेला आएको अन्तर्राष्ट्रिय समूदायको धारणा छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्