सीई कर्पोरेट टि-१० प्रतियोगिता असोज ३ देखि

Sagarmatha Post
Sagarmatha Post १७ भाद्र २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौँ । सीई कन्स्ट्रक्सन प्रा.लि. ले कर्पोरेट क्रिकेट प्रतियोगिताको दोश्रो संस्करण “सीई कर्पोरेट टि-१० प्रतियोगिता” आयोजना गर्ने भएको छ।  प्रतियोगिता असोज ३ र ४ गते काठमाडौँ चुनिखेलको नवनिर्मित रोयल्स स्पोर्ट्स पार्कको ओभल साइजको इन्डोर क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा १२ देखि १६ टिमको सहभागिता रहने अपेक्षा गरिएको छ।  गत वर्ष माघमा सम्पन्न पहिलो संस्करणमा ११ वटा टिम सहभागी थिए, जसमा सलीको इन्सुरेन्स विजेता तथा सीई कन्स्ट्रक्सन उप-विजेता बनेको थियो।

“हाम्रो उद्देश्य दैनिक गरिरहेको कामले दिक्क भएर कर्पोरेटका कर्मचारीहरूलाई क्रिकेटको माध्यमले जोड्ने, लुकेको प्रतिभा बाहिर ल्याउने, रमाउने माहोल बनाउने र ताजगी प्रदान गर्नु हो।” आयोजक टिमका एक सदस्य अमित पौडेलले बताए। उनले प्रतियोगिता कर्पोरेट र क्रिकेट क्षेत्र जोड्ने पुल समेत बन्ने विश्वास उनले गरेका छन्। साथै प्रतियोगितामार्फत च्यारिटी समेत गरिने उनले बताए।

यस वर्षको प्रतियोगितामा स्तरीय प्रत्यक्ष प्रसारणको व्यवस्था अनलाइन र टेलिभिजनमा गरिनेछ। विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई विशेष पुरस्कारको पनि व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी हुनको लागि ६० हजार रुपैयाँ इन्ट्री फि राखिएको छ। प्रतियोगितामा सहभागी हुन भदौ २० गते सम्म इन्ट्री खुला राखिएको छ। प्रतियोगिताको फर्म्याट लिग कम नकआउट रहनेछ र खेल १० ओभरको हुनेछ। प्रत्येक टिममा १० जना खेलाडी रहनेछन्, जसमा ८ जना खेलाडी प्लेयिंग सेटमा रहनेछन्। यस प्रतियोगितामा नेपाल क्रिकेट संघको मान्यता प्राप्त राष्ट्रिय अम्पायर रहनेछन्।

सीई कन्स्ट्रक्सन प्रा.लि. नेपालमा ३२ वर्षदेखि हाइड्रोपावर, अपार्टमेन्ट, र अन्य विकासका क्षेत्रमा योगदान दिँदै आएको छ। कम्पनीले निर्माण, सम्पत्ति विकास, शिक्षा, वित्त र स्वास्थ्यजस्ता विविध क्षेत्रमा पनि काम गरिरहेको छ।

सीई कन्स्ट्रक्सन प्रा.लि.अध्यक्ष विजय राज भण्डारीले यस प्रतियोगिताको आयोजनाले कर्पोरेट जीवनलाई थप रोमाञ्चक बनाउने विश्वास व्यक्त गरेका छन्। “क्रिकेटको माध्यमबाट कर्मचारीहरूले आपसमा रमाइलो गर्न पाउनेछन्, जहाँ कुनै ‘बोस’ हुने छैन, मात्र क्रिकेट खेल्ने सहकर्मीहरू हुनेछन्।” उनले टिमहरुलाई सहभागिताको लागि आह्वान समेत गरे- “हामी गर्वका साथ तपाईंलाई सीई कर्पोरेट टी-१० प्रतियोगितामा निमन्त्रणा गर्दैछौँ। यो वर्ष हामीले प्रतियोगिता अर्को स्तरमा पुर्याउने योजना बनाएका छौँ। हाम्रो उद्देश्य विभिन्न कर्पोरेट हाउसहरूलाई एकै स्थानमा ल्याएर सौहार्दपूर्ण बढाउनु हो।”

प्रतियोगिता आयोजनाले कर्पोरेट जगतलाई क्रिकेटको यस पर्वका सहभागी हुन आह्वान गरेको छ, जहाँ खेलाडीहरूले आफ्नो प्रतिभा क्रिकेटको माध्यमबाट प्रस्तुत गर्न सक्नेछन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्