ट्राफिक प्रहरी कार्यालय मकवानपुरले पहिलो डेढमहिनाको अवधिमा रु ४४ लाख ६९ हजार पाँच सय राजस्व सङ्कलन

Sagarmatha Post
Sagarmatha Post १७ भाद्र २०८१, सोमबार
3 Min Read
Aa
बागमती । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो डेढमहिनाको अवधिमा रु ४४ लाख ६९ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ ।  पूर्व–पश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा चेकजाँचमा कडाइ गरेसँगै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतभन्दा बढीले राजस्व सङ्कलनमा वृद्धि भएको हो । चालु आव २०८१/८२ को पहिलो महिना साउनमा चार हजार एक सय सात सवारी साधनमाथि गरिएको कारबाहीबाट रु ३० लाख ८७ हजार पाँच सय एक र भदौ १५ गतेसम्म एक हजार सात सय ७९ सवारी साधनलाई गरिएको कारबाहीबाट रु १३ लाख ८२ हजार गरी रु ४४ लाख ६९ हजार पाँच सय एक सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिनुभयो ।
कार्यालयले अघिल्लो आव २०८०/८१ को पहिलो महिना साउनमा एक हजार सात १७ सवारी साधनलाई कारबाही गर्दा रु १२ लाख १२ हजार मात्र राजस्व सङ्कलन भएको जनाएको छ । विभिन्न सचेतना कार्यक्रमसँगै सडकमा ट्राफिक जाँचमा कडाइ गरेपछि मकवानपुरमा सवारी दुर्घटनामा समेत कमी आएको छ । कार्यालयकानुसार चालु आव २०८१/८२ को साउन र भदौको १५ गतेसम्ममा ३८ वटा सवारी दुर्घटना भएको छ  । जसमा एक जना बालकको मृत्यु भएको छ । गत आव २०८०/८१ मा मकवानपुरमा दुई सय ४५ सवारी दुर्घटना हुँदा ५८ जनाको मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । जबकि आव २०७९/८० मा दुई सय ५२ सवारी दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको थियो भने आव २०७८/७९ मा तीन सय १७ दुर्घटनामा ७० जनाले ज्यान गुमाएका थिए ।
आव २०८०/८१ मा रु दुई करोड ८३ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउने ३७ हजार नौ सय ६० सवारी साधनमाथि कारबाही गरी सो राजस्व सङ्कलन गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।  कार्यालयले गत आव २०७९/८० मा ४७ हजार आठ सय ९९ सवारी साधनमाथि कारबाही गर्दा रु तीन करोड ६९ लाख ६७ हजार राजस्व सङ्कलन गरेको थियो । ‘‘हामीले ट्राफिक नियम र दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रमसँगै ट्राफिक जाँचमा कडाइ गरेका छौँ”, प्रहरी निरीक्षक अधिकारीले भन्नुभयो,‘‘आव २०८०/८१ मा मात्रै विद्यार्थी, नयाँ चालक, व्यवसायी, कर्मचारीलगायत दुई हजार ३७ पटकमा एक लाख ९६ हजार दुई सय ९५ जनालाई ट्राफिक नियमसम्बन्धी सचेतनामूलक सहजीकरण गरेका छौँ । यसबाहेक ठाउँ ठाउँमा पर्चा, पम्पलेट, स्टिकर टाँस र समय समयमा चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गर्दै आएका छौँ ।”
बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापरबाही तथा सडकहरूमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना हुने गरेकाले यसबारे पनि  नागरिकलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका प्रहरी निरीक्षक अधिकारीको कथन छ ।रासस
Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्