मोरङको सुन्दरहरैचा नगरपालिका–७ बस्ने दुई छोरीको हत्या गरी फरार रहेकी आमालाई पक्राउ

Sagarmatha Post
Sagarmatha Post १९ भाद्र २०८१, बुधबार
1 Min Read
Aa

मोरङ, मोरङको सुन्दरहरैचा नगरपालिका–७ बस्ने दुई छोरीको हत्या गरी फरार रहेकी आमालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा धनकुटा पाख्रीवास नगरपालिका–६ घर भएर सुन्दरहरैचा–७ मालती टोल बस्ने २१ वर्षीया अस्मिता पौडेलाई पक्राउ गरी सार्वजनिक गरिएको हो । यही भदौ १४ गते बेलुकी पति अर्जुन कार्कीसँग सामान्य विवाद भएपछि अस्मिताले दुई छोरी तीन वर्षीया अर्पना र एक वर्षीया आइङ्कालाई केराको बगानमा लगी विष सेवन गराएर हत्या गरेको प्रहरीले जनाएको छ।

 दुई बालिकाको शव यही भदौ १५ गते प्रहरीले सुनदरहरैचा नगरपालिका–७ स्थित केरा बगानमा फेला पारेको थियो। प्रहरीले हत्याको आरोपित अस्मितालाई खोजतलासको क्रममा आज झापा जिल्ला विर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ एभरेष्ट बैंक अगाडि हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो।

आरोपित अस्मितालाई सञ्चारकर्मीको सूचनाको आधारमा पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो। आरोपि अस्मिताले श्रीमान्ले आफूमाथि सधैँ कुटपिट गर्ने र मार्छु भन्ने गरेकाले रिसको झोकमा भदौ १४ साँझ १८ः३० बजे आफूले विष खाइ र छोरीलाई खुवाएकोमा छोरीको मृत्यु भएको प्रहरीलाई दिएको बयानमा उल्लेख गरेकी छिन् । जिल्ला अदालत मोरङबाट घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न चार दिनको म्याद गरिएको प्रहरीले जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्