पुन : स्थापित शान्ति प्रक्रियालाई दिगो बनाउँदै द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन नदिनेतर्फ सरकार स्पष्ट

Sagarmatha Post
Sagarmatha Post २१ भाद्र २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः स्थापित शान्ति प्रक्रियालाई दिगो बनाउँदै द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन नदिनेतर्फ वर्तमान सरकार स्पष्ट रहेको बताउनुभएको छ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा नेपाल समाजवादी पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको प्रमण्डलको १९ बुँदे ध्यानाकर्षण पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाली जनतालाई जातीय आधारमा विभाजित गरेर र सामाजिक रुपमा घृणा/द्वेष फैलाएर राष्ट्रिय एकतालाई कमजोर पार्ने प्रयास सफल नहुने स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल तुल्याएर जनताको विकास, समृद्धि र स्थायित्वको चाहना पूरा गर्नका लागि कुनै अराजकताले ठाउँ पाउने वा सत्ता समीकरणमा यताउता हुने सम्भावना नरहेको बताउनुभयो । आफू सशस्त्र द्वन्द्व कालमा सत्ता पक्ष वा विद्रोही पक्षमा नरहेकाले निष्पक्ष भएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा लाने अठोटमा रहेको स्पष्ट गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्षले विना आशङ्का यस प्रक्रियामा साथ दिनुपर्ने बताउनुभयो ।
सो अवसरमा संयोजक डा. भट्टराईले दुई ठुला दलको सरकार बनेकाले सङ्क्रमणकालीन न्याय टुङ्गोमा लाने अवसर भएकाले यसमा आफूहरूको साथ रहने बताउनुभयो । ध्यानाकर्षण पत्रमार्फत पार्टीले ती विधेयकहरू पारित भएकामा स्वागत गर्दै आगामी प्रक्रियामा बृहत् सहमतिका साथ सत्यको अन्वेषण गर्न आग्रह गरेको छ । यस्तै पार्टीले आयोगहरू गठन गर्दा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्वीकार्य व्यक्तिलाई छनोट गर्न, आयोगमा पीडितको प्रतिनिधि राख्न र परिपूरणका विधि र मापदण्डबारे स्पष्ट हुनुपर्ने लगायत माग राखेको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्