गोल्डेनगेटलाई बास्केटबल उपाधि

Sagarmatha Post
Sagarmatha Post २३ भाद्र २०८१, आईतवार
5 Min Read
Aa
काठमाडौं, गोल्डेनगेट इन्टरनेसनल कलेजले प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल कलेजलाई ४२–४० को साँघुरो अन्तरले पराजित ग¥यो । गोल्डेनगेटकी सन्ध्या डंगोलले सर्वाधिक १८ अंक जोडिन् । प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगितामा सन्ध्यानै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् ।
अत्तिरिक्त समयको खेल ३–१ ले आफ्नो पक्षमा पार्दै गोल्डेनगेटले उपाधि सुनिश्चित गरेको थियो । निर्धारित समयको खेल ३९–३९ को बराबरीमा टुंगिएको थियो । निर्धारित समयको चार क्वाटरमा गोल्डेनगेटले क्रमशः १०–११, ७–४, ८–१० र १४–१४ को प्रदर्शन गरेको थियो । उपाधिसंगै गोल्डेनगेटले २० हजार तथा उपविजेता जेभियरले १० हजार नगदसहित ट्रफी, पदक र गिफ्ट ह्याम्पर प्राप्त गरे ।
विजेतालाई अस्ट्रेलियन क्याथलिक युनिभर्सिटी (एसीयु) की रिजनल मार्केटिङ म्यानेजर कोल्मा फेच्नर, एसीयुकी रिजनल म्यानेजर अनुष्का श्रेष्ठ, पीइसीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत एसके श्रेष्ठ, पीइसीका प्रोग्राम डाइरेक्टर राजु सिंह, नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत   गरे । छदिने प्रतियोगितामा ७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक नृपेश श्रेष्ठले जनाएका छन् ।

प्रयास मञ्च नेपालले निमेशलाई सम्मान गर्ने
प्रयास मञ्च नेपालले अन्तर्राष्ट्रिय पदक विजेता निमेश गुरुङलाई सम्मान गर्ने भएको छ । मञ्चको आयोजनामा असोज ३ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने १३ औं बुद्धवीर लामा गीतिमय साँझ एकल सांगीतिक कार्यक्रममा निमेशलाई सम्मान गर्न लागिएको मञ्चका अध्यक्ष शिवध्वज कार्कीले जनाएका छन् ।
निमेश प्रहरी संगठनबीच हुने विश्व दौड प्रतियोगिताअन्तर्गत हाफ म्याराथन र १० किलोमिटर दौडका स्वर्ण विजेता हुन् । सिंगापुर प्रहरीको निरीक्षकबाट हालै सेवा निवृत्त निमेश हाल बेलायतमा बस्छन् । सो कार्यक्रममा निमेशसंगै दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर र विश्वका ६ मुख्य म्याराथन मध्ये ४ म्याराथनमा सहभागिता जनाइसकेका धावक शम्भुप्रसाद दाहाललगायत देश÷विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई पनि सम्मान गरिने अध्यक्ष कार्कीले जानकारी दिए ।
त्यस अवसरमा अमेरिकाबाट गायक÷संगीतकार आधार तुम्बापो, डायस्पोरा गीतकार गणेश श्रेष्ठ, वरिष्ठ गीतकार मुकेश राई, समाजसेवी कलपना गुरुङ, भारतका शिक्षासेवी पाल्देन लामा, विना तामाङ, हास्य कलाकार महेन्द्र बागदास, द भ्वाइस अफ किड्स नेपालकी प्रतिभा अस्मिक खवास र गायिका शोभना प्रधानलाई सम्मान गरिने छ ।
गीतिमय साँझमा गीतकार लामाका गीतहरु मात्र प्रस्तुत गरिने छ । लामा गत असारमा बंगलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ६५ वर्षमाथि ५ हजार मिटर दौडका स्वर्ण विजेता   हुन् ।

कोटेश्वर तेक्वान्दो डोजाङ छैटौं नेकोस राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । कोटेश्वरले ८ स्वर्ण, ३ रजत र ४ कांस्य जित्यो । नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय तेक्वान्दो संघको आयोजनामा पेप्सीकोलास्थित कोटेश्वर तेक्वान्दो डोजाङमा भएको प्रतियोगितामा सुन्दरीमाइ तेक्वान्दो डोजाङ २ स्वर्ण, २ रजत र ५ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको ओम माने तेक्वान्दो डोजाङले १ स्वर्ण र ४ रजत हात पा¥यो ।
विजेतालाई बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर, तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठ, आयोजक राष्ट्रिय तेक्वान्दो संघकी अध्यक्ष शारदा धिमाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको नेपाल खेलकुद महासंघका इन्चार्ज एवं नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगननाथ थपलिया र नेकोसका महासचिव धर्मकुमार लामाले उद्घाटन गरेका थिए । प्रतियोगितामा २ सय ७५ खेलाडीले १६ स्पर्धामा प्रतिस्पर्धा गरेको तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।

लामाको नेतृत्वमा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटी गठन
काठमाडौं । रमेश लामाको नेतृत्वमा नेपाल वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटी गठन भएको छ ।
नागार्जुनस्थित रानीवन बुद्धचोकमा शनिबार नागार्जुन शाखा डोजो संघको भेलाले लामाको नेतृत्वमा नौं सदस्यीय कार्यसमिति गठन गरेको हो ।
भेलाले उपाध्यक्षमा रविला लामा, सचिवमा उमाकान्त उपाध्याय, कोषाध्यक्षमा सञ्जय लामालाई चुनेको छ । यस्तै, सदस्यमा नवराज लामा, रिनेश लामा, यादव रायमाझी, रोहन पुतुवार र अजित पुतुवारलाई कार्यभार सुम्पिएको छ ।
कार्यक्रममा सहभागी खेलाडी र सिनियर प्रशिक्षक लामाले विशेष खेल प्रदर्शन गरेका थिए । सो भेलामा प्रमुख अतिथि नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी, विशेष अतिथि वडा १ का अध्यक्ष रामेश्वर लामा, ओलम्पियन संगीना वैद्य, सिनियर प्रशिक्षक सञ्जय लामालगायत अन्य अतिथिको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष लामाले नागार्जुन नगरभित्र रहेका बालबालिकालाई लक्षित गर्दै खेल क्षेत्रमा अघि बढ्न प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए । ‘२१औं शताब्दीमा बालबालिका विभिन्न अनलाइन गेममा व्यस्त हुने गरेका छन् । शारीरिक रूपमा पनि बलियो बनाउन र स्वस्थ बनाउन यो खेललाई जोड दिनुपर्ने छ,’ उनले भने ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्