पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स्वीकार्य हुन नसक्ने : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल

Sagarmatha Post
Sagarmatha Post २ आश्विन २०८१, बुधबार
3 Min Read
Aa

काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स्वीकार्य हुन नसक्ने बताएका छन् ।संविधान दिवसको सन्दर्भमा आयोजित संविधान कार्यान्वयनको वर्तमान अवस्था विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानको कार्यान्वयन गर्दै अघि बढ्ने बेला पछि फर्किने सोच र तर्कलाई संविधान निर्माणकर्ता र संविधानले नै स्वीकार नगर्ने बताएका हुन् । “संविधानप्रतिको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार, परिमार्जन स्वभाविक प्रकृया हो । तर ती प्रक्रियाहरु प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातिर हुनु जरुरी छ’’, अध्यक्ष दाहालले भने, “पछि फर्कने वा पश्चागामी सोचका साथ आउने तर्कहरु अग्रगामी संविधान निर्माण गर्नेहरु र यो संविधान स्वयंका लागि मान्य हुनै सक्दैनन् ।’’

संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने थुप्रै कानुनहरू अझैं बन्न नसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले समयमा कानुन नबन्दा आएका समस्याले संविधान र सङ्घीयता कार्यान्वयनका चुनौती थपिएको बताए । सङ्घीयताका कारणले जनताले पाउनुपर्ने सेवा सुविधा नपाउँदा देखिने असन्तुष्टिको सम्बोधन गर्न ढिलाइ गर्न नहुने उल्लेख गर्दै अध्यक्ष दाहालले सरकार, संसद र सबै तहका जनप्रतिनिधिहरू संविधान कार्यान्वयनका काममा गम्भीर भएर लाग्नुपर्ने बताए ।

संविधान कार्यान्वयनका आठ वर्षमा दुईरदुई पटक संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमार्फत् जनादेश लिएर राज्य सञ्चालन भइरहेको बताउँदै अध्यक्ष दाहालले देशलाई सङ्घीयकरण गर्ने, सामाजिक संरचनाहरुलाई गणतान्त्रिकरण गर्ने कामले संविधान कार्यान्वयनलाई सफल बनाउँदै लगेको बताए । पछि पारिएका वर्ग, लिङ्ग, जाति र समुदायले राज्यका हरेक संरचनामा सहभागी हुन पाउने अधिकार स्थापित गर्नु संविधानको मुख्य उपलब्धि भएको अध्यक्ष दाहालले बताए ।

“स्थानीय तहमा ४० प्रतिशत र प्रदेश एवम् संघमा एक तिहाई महिलाको प्रतिनिधित्वसहित दलित आदिवासी जनजाति, मधेश, पिछडिएको क्षेत्र, मुश्लिम लगायतका अल्पसङ्ख्यक समुदायको समुचित प्रतिनिधित्व र राज्यका हरेक संरचनामा सहभागी हुने हक प्राप्त हुनु हाम्रो संविधानको मुख्य उपलब्धि हो’’, अध्यक्ष दाहालले भने, “विगतमा प्रतिनिधित्व नभएका वर्ग, क्षेत्र, समुदायको सकारात्मक विभेदसहितको विशेषाधिकारलाई संस्थागत गर्ने काम पनि यही संविधानले गरेको हो । विगतको राज्य संरचनाका कारणले हेपिएका, चेपिएका र पिछडिएका वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको शासन सञ्चालनमा सकारात्मक हस्तक्षेप हाम्रो संविधानको महत्त्वपूर्ण उपलब्धि हो ।’’

संविधान सभाबाट सङ्घीयता र गणतन्त्रसहितको संविधान, समावेशी र धर्मनिरपेक्षता राष्ट्र निर्माण नेपाली जनताको चाहनाको प्रतिफल भएको उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले संविधान दिवस मनाइरहँदा संविधानको सफल कार्यान्वयनका लागि गर्ने कार्यले विगतको आन्दोलनको सार्थकता र बलिदानप्रति सम्मान हुने बताए । कार्यक्रम सङ्घीय संसद सचिवालयसँगको सहकार्यमा नेपाल लेजिस्लेटिभ एकेडेमीले आयोजना गरेको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्