हाल जारी रहेका सबै परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय

Sagarmatha Post
Sagarmatha Post १२ आश्विन २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौँ । सरकारले हाल जारी रहेका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । लगातारको अविरल वर्षाका कारण भएको जनधनको क्षतिबारे समीक्षा गर्न कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज सिंहदरबारमा बसेको सरकारको आपतकालीन समन्वयात्मक बैठकले क्षतिको प्रारम्भिक मूल्याङ्कन गर्नुका साथै हाल भइरहेको सम्पूर्ण परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

यस्तै, बैठकले अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउने मृतकका परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने, अवरुद्ध सडक खुलाउने, राहत र उद्धारका सम्पूर्ण ध्यान केन्द्रित गर्ने, घाइतेको निःशुल्क उपचार गर्ने लगायतका निर्णयहरू गरेको सञ्चार मन्त्री गुरुङले बताउनुभयो ।यस्तै, बैठकले बाढि पहिरोका कारण केही क्षेत्रमा अवरूद्ध टेलिफोन सेवा, विद्युत् आपूर्ति र खानेपानी लगायतका सेवालाई सुचारु गर्न सम्बद्ध पक्षहरूलाई निर्देशन दिएको पनि सञ्चारमन्त्री गुरुङले बताउनुभयो । साथै, बैठकले बाढी पहिरोमा परी प्रभावित हरुको उद्धार र राहतका लागि सरकारको हटलाइन सेवा सञ्चालनमा रहेको र त्यसको सम्पर्कमा आउन आग्रह गरेको छ । उद्धार र राहतका लागि प्रधानमन्त्री कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको हटलाइनका साथै गृह मन्त्रालयको हटलाइनमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको सञ्चारमन्त्री गुरुङले बताउनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्