काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले विपद्को समयमा सबै मिलेर प्रभावितहरूको उद्धार, राहत वितरण र पुनर्स्थापनामा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । विपद्को समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी विगतका विपत्तिहरूमा जस्तै राजनीतिक दलहरूका साथै देशका विभिन्न सामाजिक संघ–संस्थाहरू र नागरिक समाज मिलेर अगाडि बढ्दा जस्तोसुकै जोखिमको सामना गर्न सकिने भएकाले अहिलेको बेलामा पनि आफूहरू त्यस अनुसार अगाडि बढ्न तयार रहेको बैठकमा नेताहरूले बताउनुभएको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
सर्वदलीय बैठकले जिल्ला विपद्, व्यवस्थापन समिति, जिल्ला स्थित यातायात समिति लगायतका सम्वद्ध संस्थाहरूको समन्वयमा बाढी पहिरोका कारण अलपत्र परेका यात्रुलाई सुरक्षित रुपमा गन्तव्य सम्म पुर्याउने, अवरूद्ध सडकहरू यथासक्य छिटो सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तदारुकता पूर्वक लाग्ने लगायतका निर्णयहरू बैठकमा लिइएको पनि सञ्चारमन्त्री गुरुङले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्