३४ राजमार्गमध्ये २९ वटा सञ्चालनमा , पाँच वटा राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

Sagarmatha Post
Sagarmatha Post १८ आश्विन २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढी र पहिरोका कारण पाँच वटा राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलमा भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा ३४ राजमार्गमध्ये २९ वटा सञ्चालनमा आइसकेको मन्त्री दाहालले बताए ।

३४ राजमार्गका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएकामा ७७४ स्थानको पहिरो हटाइसकिएको उनको भनाइ छ । उनले भने, ‘अझैसम्म ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्न प्रयास जारी छ ।’ जसमा अरनिको राजमार्गको लार्चा-कोदारी खण्डको पुल बगाएको बताएको छ । त्यस्तै मन्त्रालयले वीपी राजमार्गको १२ किमी सडक पुर्णरुपमा बगेको जानकारी दिएको छ । मन्त्रालयले अहिले दुवै तर्फको पहिरो सफा गर्ने काम गरिरहेको र रोशी नदीको पानीको बहावलाई मध्यनजर गरेर सम्भव भएसम्मका सबै विकल्पहरु प्रयोग गरि अस्थायी रुपमा यातायात संचालन गर्ने जानकारी दिएको छ ।

त्यसैगरी पुष्पलाल राजमार्गको ८० किलोमिटर खण्डमा धेरै ठाउमा पहिरो गएर सडक समेत बगाएको अवस्था रहेकोले सडक मर्मत गरेर बर्दिबासबाट वीपी राजमार्ग भएर आउने सवारी साधनलाई दोलालघाट हुदै काठमाडौँ प्रवेश गराउने मन्त्रालयले बताएको छ । त्यस्तै कान्ति राजपथको १३ किमी सडक अवरुद्ध रहेकोमा मकवानपुर र ललितपुर दुवै तर्फ पहिरो सफा गर्ने काम भइरहेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै मेची राजमार्गको रमिते-फिदिम खण्डको हेवा पुलसहित ८ किलोमिटर सडक अवरुद्ध भएको जानकारी दिदै मन्त्रालयले रमिते डाँडाको पहिरो हटाउने काम गरिरहेको जानकारी दिएको छ । मन्त्रालयले बाढी पहिरोले सम्पूर्ण सडक तथा पुलको संरचना पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्