मकवानपुर । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ मा रहेको कुलेखानी ड्याम नजिकै सिमखोलामा बनाइएको डाइभर्सन भासिँदा सवारी आवागमन पुनः अवरुद्ध भएको छ। यसले गर्दा कुलेखानी-फाखेल-महालक्ष्मी र कुलेखानी-सिस्नेरी-दक्षिणकाली दुवै मार्गमा यातायात सेवा ठप्प भएको छ। हिजो आइतबार मात्र पाँच दिनको अथक प्रयासपछि यी सडक खण्डहरू सञ्चालनमा ल्याइएका थिए । सिमखोला, महालक्ष्मी खोला र सिस्नेरी खोलाले बगाएको बाटोको विकल्पमा डाइभर्सन निर्माण गरी यातायात सुचारु गरिएको थियो ।
तर, डाइभर्सनमा भरिएको माटो भासिँदा फेरि समस्या उत्पन्न भएको हो। डाइभर्सन निर्माण स्थलमा रहेका एक प्राविधिकका अनुसार, नयाँ माटो भर्ने काम भइरहेको र अबको दुई घण्टाभित्र सवारी आवागमन पुनः सुचारु हुने अपेक्षा गरिएको छ । यस क्षेत्रमा यातायात सेवा सुचारु गर्न बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, स्थानीय तह, नेपाली सेना र प्रहरीले संयुक्त रूपमा प्रयास गरिरहेका छन्। यी निकायहरूको सक्रियतामा नै गत आइतबार अपराह्नदेखि सवारी आवागमन सुचारु गरिएको थियो। स्थानीय यात्रुहरू र सवारी चालकहरूले यस समस्याको चाँडो समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।अधिकारीहरूले पनि यातायात सेवा छिटो सुचारु गर्न हरसम्भव प्रयास गरिरहेको बताएका छन् । यस घटनाले यस क्षेत्रको दैनिक जनजीवनमा असर परेको छ र स्थानीय व्यापार तथा आवागमनमा समेत बाधा पुगेको छ।


प्रतिक्रिया दिनुहोस्