पार्टीको निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकको निर्णय

Sagarmatha Post
Sagarmatha Post ५ कार्तिक २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) केन्द्रीय सचिवालय बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका विषयमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकले भवन निर्माणका सन्र्दभमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामोसमय पार्टीको नीतिसँग असहमति राखेर आफ्नो विचार प्रकट गरिरहनुभएका पार्टीका पूर्वउपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले पार्टी निर्णयविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिनुभएकामा के कति करणले त्यसप्रकारका गतिविधि गर्नुभएको हो भनेर सोध्ने निर्णय भएको छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका विषयमा पत्रकारले सोधेको जिज्ञासामा उहाँले नेपाल सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाएको र संसद्को सर्वसम्मत निर्णयका आधारमा प्रक्रिया अघि बढेकाले छानबिन प्रक्रियामा आएको कुरालाई सहयोग पुर्याउनुपर्ने बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो, “पार्टीको दृष्टिकोण स्पष्ट छ, छानबिनले जे देख्छ, त्यहीअनुसार निर्णय हुनुपर्छ ।”

यस्तै, अर्को जिज्ञासामा उहाँले पार्टीको भवन निर्माणका लागि जग्गा दानमा प्राप्त भएको विषयलाई कानुनी प्रक्रियाद्वारा समाधान र त्यसमा स्वार्थ बाझिनुपर्ने कुनै आधार नभएको बताउनुभयो । “भूकम्पपछि पुनःनिर्माण कार्य भयो, पार्टीले धेरै बस्ती निर्माण गर्ने अभियान नै सञ्चालन गर्यो, पुरातात्विक एतिहासिक संरचनाको निर्माण गर्यो”, महासचिव पोखरेलले भन्नुभयो, “भूकम्पमै एमाले पार्टी कार्यालय पनि भत्कियो, सङ्कटमा परेको बेलामा गरेको सहयोगलाई स्वाभाविक रूपमा लिनुपर्छ ।”

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्