रबिन थपलिया । काठमाण्डौं । कार्तिक २७ । तारकेश्वर नगरपालिकाले नगरवासीहरुका लागि एन्टी रेबिज भ्याक्सीन निशुल्क रुपमा उपलव्ध गराउने भएको छ ।
कुकुरले टोकेपछि हुन सक्ने रेबिज नामक प्राणघातक रोगको उपचारका लागि नगरपालिकाले कार्तिक २९ गते देखि साङला प्राथमीक स्वास्थ्य केन्द्रबाट निशुल्क रुपमा एन्टी रेबिज भ्याक्सीन लगाउन लागेको हो ।
नेपालमा ९९ प्रतिशत रेबिज परपालुवा जनावर कुकुरको टोकाइका कारण लाग्ने गरेको छ । सरकारी तथ्यांक अनुसार कुकुर या अन्य कुनै जनावरले टोकेर नेपालमा वर्षेनी ८५ हजार जनाले रेबिज विरुद्धको खोप लगाउने गरेका छन् ।
कुकुरले टोकेपछि शरिरमा फैलिने रेबिजको खतराबाट जोगाउनको लागि अनिवार्य रुपमा एन्टी रेबिज भ्याक्सीन लगाउनुपर्ने हुन्छ । पाखुरामा तिन पटक लगाउनुपर्ने यस भ्याक्सीनका लागि स्वास्थ्य संस्थाहरुले प्रतिडोज ६ सय रुपयाँ लिने गर्दछन् । तिन पटक भ्याक्सीन लगाँउदा न्यूनतम १८ सय रुपयाँ खर्च हुनेगर्दछ । तारकेश्वर नगरपालिकाले कार्तिक २९ गते देखि वडा नं १ स्थीत साङला प्राथमीक स्वास्थ्य केन्द्रबाट एन्टी रेबिज भ्याक्सीन निशुल्क रुपमा लगाउन लागेको तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत गणेश कुवंरले बताउनुभयो ।
सन् २०३० सम्ममा नेपालमा रेबिजको कारण हुने मृत्युलाई शुन्यमा झार्ने लक्ष्य राखिएको छ । तर हाल वर्षेनी करीब १०० जनाको मृत्यु रेबिजको कारण भइरहेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी यसबारे आधिकारीक तथ्यांक भने सरकारसँग छैन ।
तारकेश्वर नगरपालिकामा नगरप्रमुख कृष्ण हरि महर्जन नेतृत्वको टिम आएसंगै नगरवासीहरुसंग उत्तरदायी बन्दै स्वास्थ्यका क्षेत्रमा धेरै प्रयास भएका छन् । तारकेश्वर नगरवासीहरुको लागि चौबीसै घण्टा निशुल्क एम्बुलेन्स सेवा, स्वास्थ्य बिमा कार्यकम लागु, निशुल्क डायलाइसिस सेवा, सम्पुर्ण नगरबासी नागरिकहरुलाई रगत तथा रक्ततत्व अभाव हुन नदिन निशुल्क रक्त संचार सेवा संचालन सहित ७० वर्ष माथिका सम्पूर्ण नागरिकहरुलाई पिसिभि खोप समेत निशुल्क प्रदान तथा स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन भइरहेका छन् ।
त्यस्तै महिलाहरुको पाठेघरको क्यानसर तथा पुरुषहरुको प्रोष्टेट क्यानसरको स्क्रिननिङ्ग सेवा समेत निशुल्क रुपमा चलिरहेको तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले बताउनुभयो ।

fgfg


प्रतिक्रिया दिनुहोस्