आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने निर्णय

Sagarmatha Post
Sagarmatha Post २२ मंसिर २०८१, शनिबार
1 Min Read
Aa

काठमाण्डौं । निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकामा सो उपनिर्वाचन सम्पन्न भई परिणामसमेत प्राप्त भइसकेकाले नियमित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु गर्न लागिएको आयोगले जनाएको छ ।

कुनै व्यक्ति पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोबास गरिरहेको भए पनि निजले मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि आवश्यक प्रमाणसहित आवेदन गरेमा निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

मतदाता नामावलीमा नाम दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यकपर्ने आयोगले जनाएको छ । नागरिकतामा उल्लिखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली दर्ता गर्न नागरिकता, बसाइँसराइ वा विवाह दर्ताको प्रमाणपत्र पेस गर्नुपर्नेछ । आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार अब मतदाता नामावलीमा भएको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायत कार्य गर्न सकिने छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्