धादिङको धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

Sagarmatha Post
Sagarmatha Post २४ मंसिर २०८१, सोमबार
1 Min Read
Aa

धादिङ ,  धादिङको धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा जिल्ला अदालत धादिङबाट पक्राउ पुर्जी जारी भएको हो । उनीहरूविरुद्ध १२ मंसिरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको धादिङ प्रहरी स्रोतले बतायो ।

पक्राउ पुर्जी जारी हुनेहरूमा वडाध्यक्ष हरिप्रसाद सुवेदी, तत्कालीन वडासचिव मिलन कुमार सुवेदी, उक्त वडाका अर्का कर्मचारी निर्मल गौतम, धादिङकै थाक्रे गाउँपालिका–८ का २९ वर्षीय रविन्द्र तामाङ, धुनीवेशी–४ का ३० वर्षीय राजु तामाङ, धुनीवेशी–४ कै ५५ वर्षीय मदन दमाई र काठमाडौंको तार्केश्वर नगरपालिका–४ पुरोना गुहेश्वरी बस्ने ३६ वर्षीय जमुना परियार छिन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी दीपेन्द्र शाहीका अनुसार उनीहरूविरुद्ध किर्तेको कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो । उनीहरूविरुद्ध सरकारी कागजात कीर्ते गरेको आरोप छ । जमुना र नाबालक छोराको नाममा रहेको जग्गा बेच्नका लागि किर्ते जन्मदर्ता बनाएर नाबालकलाई साबालक बनाइएको थियो । एक अनुसन्धान अधिकृतका अनुसार करोड भन्दा बढी मूल्यको जग्गा साबालक छोराको समेत अनुमति भनेर बेचेको खुलासा गरिएको छ । यो समूहले यसवापत केही रकम समेत लिएको प्रहरीको भनाइ छ ।

यता वडाध्यक्ष सुवेदी पक्राउ पुर्जी जारी भएपछि मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् । एक अनुसन्धान अधिकृतले प्रतिवादीहरुलाई पक्राउ गरेपछि यसबारेमा सत्यतथ्य पत्ता लाग्ने जानकारी दिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्