कृषि सहकारी ठगी प्रकरणमा प्रतिवादी रहेकी सांसद पत्नी अञ्जला कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी

Sagarmatha Post
Sagarmatha Post २ पुष २०८१, मंगलवार
2 Min Read
Aa

मोरङ,  मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा प्रतिवादी रहेकी सांसद पत्नी अञ्जला कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलाशले कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । कोइराला संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी हुन् ।

मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले सहकारी ठगी प्रकरणमा कोइरालासहित २५ जना विरुद्ध पक्राउ पुर्जी जारी गर्ने आदेश भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । सो सहकारीमा २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको भन्दै अभियाग पत्र दायर भएको छ । उनीहरूलाई सो बिगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदावी अभियोग पत्रमा छ ।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि इलाका प्रहरी कार्यालय रङ्गेलीलाई पत्र समेत पठाएको बुढाथोकीले बताए । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मङ्सिर २७ गते सरकारी वकिलको कार्यालय मोरङले पोखरेलपत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो ।

मंसिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । उनी धनपालथान गाउँपालिका –४ का पूर्व वडाध्यक्ष हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

सहकारी स्थापना गर्दा पोखरेलले श्रीमतीलाई सञ्चालक समितिमा राखेका थिए । अञ्जला २०७२ देखि ०७८ सम्म सञ्चालक सदस्य थिइन् । उनीसमेतको हस्ताक्षरबाट भएको निर्णयको आधारमा सहकारीले बुटवलस्थित आरएसडीसी लघुवित्तबाट ऋण लिएको थियो । तर, ऋण नतिरेपछि सहकारीले अञ्जलासहित सञ्चालकविरुद्ध मुद्दा दर्ता गरेको छ भने उनीहरूलाई कालोसूचीमा राखेको छ । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि राजीनामा दिएकी थिइन् । उनले कालोसूची हटाउन माग गर्दै उच्च अदालत विराटनगरमा दायर गरेको मुद्दा पनि विचाराधीन छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्