बैठकमा नआउने सदस्यलाई स्पष्टीकरण सोध्ने वातावरण बनाउन आवश्यक : सभामुख देवराज घिमिरे

Sagarmatha Post
Sagarmatha Post ७ पुष २०८१, आईतवार
3 Min Read
Aa
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काभ्रेपलाञ्चोक,  सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले संसदीय समितिका विधेयक समितिमा कोरम नपुगेर बैठक नबस्दा बैठकमा नआउने सदस्यलाई स्पष्टीकरण सोध्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था महाशाखाद्वारा यहाँ आयोजित दुईदिने ‘प्रतिनिधिसभाको बैठक सञ्चालन र व्यवस्थापनमा सचिवालय’ विषयक संसदीय पदाधिकारीहरुबीचको समीक्षात्मक कार्यक्रमको आज समापनका अवसरमा उहाँले लामो समयसम्म विधेयक समितिको बैठक नबस्दा आउने समस्यालाई सबै सरोकारवाला पक्षले हल गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

“समितिका पदाधिकारी एवं सदस्यलाई कडाइकासाथ बोलाउनुस्, त्यसपछि पनि आउनुभएन भने स्पष्टीकरण सोध्नुस् भनेको छु”, सभामुख घिमिरेले भन्नुभयो, “यो स्पष्टीकरण सोध्ने विषय पनि कार्यान्वयन भइरहेको छैन, सबै मिलेर के कसरी हुन्छ स्पष्टीकरण सोध्ने वातावरण मिलानुपर्छ ।” उहाँले विधेयक समितिका लागि संसद् सचिवालयले गर्नुपर्ने आवश्यक प्रक्रिया गर्दै आए पनि प्रभावकारिता नदेखिएको गुनासो गर्नुभयो ।

सभामुख घिमिरेले हालको व्यवस्थाअनुसार तीन पटक विधेयक समितिको बैठक बोलाउँदा कोरम नपुगेपछि फेरि बोलाउँदा दुई वटासम्म पनि कोरम नपुगे तेस्रो बैठक एक तिहाईको उपस्थितिमा बैठक गराउन आफूले ध्यानाकृष्ट गराएको उल्लेख गर्नुभयो । “व्यवस्थाअनुसारको बैठक बसाल्नेतर्फ सबैले प्रयत्न गरौँ, समस्या समाधान हुँदै जानेछ”, उहाँले भन्नुभयो । विधेयक समिति प्रभावकारी रुपमा चलायमान गराउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने उहाँको तर्क थियो ।

सभामुख घिमिरेले सदन सञ्चालनका समयमा दिनको अन्तिम समयमा अध्यादेश दर्ता गर्ने हिसाबले मात्रै आउने गरेकोसमेत उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “संसद्सँग समन्वय नगरी अध्यादेश दर्ता गर्ने हिसाबले मात्रै आउँदा समस्या सिर्जना भएका छन्, यसमा पनि सबैको ध्यान जानु आवश्यक देखिन्छ ।” संसद्लाई गतिशील र प्रभावकारी बनाउन सबै दल र समितिको उत्तिकै दायित्व रहेको उहाँको धारणा थियो ।

सभामुख घिमिरेले आफूलाई दिएको अधिकार प्रयोग गर्नेतर्फ पनि निकै कठिनाइ भएको दुःखेसो पोख्नुभयो । “सभामुखले निर्णय गरे पनि निर्णय कार्यान्वयन हुने वातावरण तयार हुनुप¥यो, यसको निकै अभाव छ”, उहाँले भन्नुभयो । दलीय आधारमा सल्लाह गर्ने, सुझाव लिने, त्यस अनुसार सांसदलाई तयारी गर्ने, क्यालेन्डर तय गरी सोहीअनुसार कार्य सम्पन्न गर्नेतर्फ सरकार र संसदले त्यत्तिकै जिम्मेवार बोध गर्नुपर्ने उहाँले बताउनुभयो ।

त्यसअवसरमा उपसभामुख इन्दिरा रानाले संसद्लाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दोस्रो सङ्घीय संसद् प्रभावकारी ढङ्गले सञ्चालन गरी सम्पन्न गर्नुपर्ने दायित्व छ, यसका लागि सरकार, राजनीतिक दल, सांसद तथा संसद् सचिवालयले आआफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका खेल्नुपर्छ, यसका लागि हामी अपेक्षाकृत छौँ ।” रासस

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्