थारू संस्कार तथा संस्कृति संरक्षण गर्न माघी विशेष सांस्कृतिक कार्यक्रम आयोजना

Sagarmatha Post
Sagarmatha Post २१ पुष २०८१, आईतवार
2 Min Read
Aa

तुलसीपुर (दाङ) । मञ्चमा पालैपालो मघौटा नाच चलिरहेको थियो । दर्शक पनि त्यसमा रमाइरहेका थिए । बूढापाकादेखि नयाँ पुस्ताले मघौटा नाच नाचिरहेका थिए । नयाँ पुस्ता केही नयाँ शैलीमा नाच्न खोज्दै थिए भने बूढापाका परम्परादेखि नाच्दै आएको मघौटा नाच नाचिरहेका थिए । त्यसमा मिसिएका थियो, सिङ्गारु, पैसेरी र मयुर नाच ।

यो दृश्य शनिबार तुलसीपुर उपमहानगरपालिका–१२ ले आयोजना गरेको माघी विशेष सांस्कृतिक कार्यक्रमको हो । वडाभित्रका विभिन्न टोल विकास संस्था तथा क्लबले यसमा सहभागिता जनाएका थिए । थारू संस्कार तथा संस्कृति संरक्षण गर्न यसरी माघी विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताउनुभयो ।

“पछिल्लो समय नयाँ पुस्ताले थारू संस्कार, संस्कृति भुल्दै गएको भन्ने गुनासो आउने गरेको छ”, उहाँले भन्नुभयो, “यसलाई संरक्षण गर्न यो कार्यक्रम आयोजना गरेका हौँ ।” वडाले यसरी प्रत्येक वर्ष कार्यक्रम आयोजना गर्ने गरेको छ ।

कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मले भाग लिएका थिए । जसमा रजौराको नाच प्रथम, रजेनीको नाच द्वितीय र रझेनाको नाच तृतीय भएका छन् । अन्य नाचका सहभागीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । यस्तै, झाँकीमा रझेनीको नाचले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको थियो । विभिन्न वेशभूषामा सजिएर थारू समुदाय सहभागी भएको थियो । जहाँ ढिक्री, अचार, घुँङी, बङ्गुरको मासुसमेतको व्यपस्था गरिएको थियो । जुन थारू समुदायको परिकार हो ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले थारू समुदायले आफ्नो संस्कार, संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न यस्ता कार्यक्रमले भूमिका खेल्ने बताउनुभयो । उक्त अवसरमा गुरुवा, सुडेनी, महतवा र महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो । उहाँहरूले समाजमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । कार्यक्रममा कलाकार दोषरण चौधरी र सङ्गीता चौधरीले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्