अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु ,एक हजार पाँच सयभन्दा बढी भवन जलेर नष्ट

Sagarmatha Post
Sagarmatha Post २५ पुष २०८१, बिहीबार
2 Min Read
Aa

हलिउड (संयुक्त राज्य अमेरिका),  अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बुधबार बताएका छन् ।डढेलो सहरमा प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण कम्तीमा एक हजार पाँच सयभन्दा बढी भवन जलेर नष्ट भएका छन् भने एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।

लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले आफू मातहतका कर्मचारीहरू विपत्तिको परिमाण र गतिसँग जुधिरहेको बताउनुभएको छ ।उहाँले भन्नुभयो, “हामीले सक्दो प्रयास गरिरहेका छौं तर हामीसँग लस एन्जेलसका सबै विभागहरूमा यसलाई ह्यान्डल गर्न पर्याप्त अग्नि नियन्त्रकहरू छैनन् ।” पासाडेनाका अग्नि नियन्त्रक चाड अगस्टिनका अनुसार आगलागीका कारण पाँच सयभन्दा बढी भवन नष्ट भएका छन् । उहाँले आगलागी नियन्त्रणका लागि जुटेका अग्नि नियन्त्रकको प्रशंसा गर्दै आगलागी भीषण रहेको र नियन्त्रणमा ल्याउन निकै कठिनाइ भएको उहाँले बताउनुभयो ।

अगस्टिनले पत्रकारहरूसँग भन्नुभयो, “उनीहरूको वीरतापूर्ण कार्यबिना आज आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या उल्लेखनीय रूपमा बढी हुने थियो ।”लस एन्जलस डिपार्टमेन्ट अफ वाटर एन्ड पावरका प्रमुख कार्यकारी जेनिस क्विनोनेसले प्यासिफिक पालिसडेसमा पानीका स्राेत (हाइड्रेन्ट) सुकेपछि पानीको जथाभावी प्रयोग नगर्न र जोगाएर नियन्त्रण गर्न आग्रह गर्नुभएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जालमार्फत पानीको अभाव राज्यको वातावरणीय नीतिका कारण भएको दाबी गर्नुभएको छ । वास्तवमा, लस एन्जलसको अधिकांश पानी कोलोराडो नदीबाट आउँछ र आवासीय प्रयोग वा फायर फाइटिङको अलावा यसलाई खेतीमा सिँचाइका लागि प्रयोग गरिन्छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलो नियन्त्रणका लागि केन्द्रीय स्रोत र साधनसमेतको व्यवस्थापनमा ध्यान केन्द्रित गरिने बताउनुभएको छ । उहाँले यसै साता इटालीका लागि तय भएको आफ्नो भ्रमण रद्द गर्नुभएको छ । बाइडेनले भन्नुभयो, “हामी डढेलो नियन्त्रण गर्न जति सक्दो प्रयास गरिरहेका छौं ।” रासस/एएफपी

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्