काठमाडौं । इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सहमति भएसँगै बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी रिहाइको बाटो खुलेको छ । हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमण गरेयता विपिन बेपत्ता छन् । अध्ययनका लागि इजरायल गएका उनको रिहाइका लागि विभिन्न पहल भएपनि सफलता हासिल हुन सकेको छैन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले यही पुस १ गते मात्रै हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी थिइन् ।खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्ति वार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।
गाजामा हमास र इजरायलबीच ७ अक्टोबर २०२३ देखि युद्ध चलेको थियो । हमासले इजरायलमा आक्रमण गरेर २५१ जनालाई बन्धक बनाएको थियो । हमाससँग हाल ९४ इजरायली बन्धक रहेको बताइएको छ । यद्यपि, इजरायलले यी बन्धकमध्ये ६० जना मात्र जीवित रहेको विश्वास गरेको छ । जवाफमा इजरायलले गाजामा हमासविरुद्ध सैन्य आक्रमण सुरु गरेको थियो । गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयका अनुसार यी आक्रमणमा ४६ हजार ५०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।


प्रतिक्रिया दिनुहोस्