गृहमन्त्री र एडिबीका देशीय निर्देशक  आर्नो कोस्वाबिच बिहीबार भेटवार्ता

Sagarmatha Post
Sagarmatha Post १० माघ २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं,  गृहमन्त्री रमेश लेखक र एसियाली विकास बैंक (एडिबी)का यहाँस्थित देशीय निर्देशक  आर्नो कोस्वाबिच बिहीबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडिबीकोे पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

साथै मन्त्री लेखकले पूर्व–पश्चिम राजमार्गको गड्डाचौकी–कोहलपुर खण्ड स्तरोन्नति, सुदूरपश्चिमको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकास गर्न थालिएको महाकाली करिडोरको सडक निर्माणमा सहयोग, कैलालीको गोदावरीदेखि डडेल्धुरासम्मको सडक स्तरोन्नति, भारतीय सहयोगमा निर्माणको प्रक्रियामा रहेको दोधारा चादँनी सुख्खा बन्दरगाह वरपर अन्य भौतिक संरचना निर्माण गरी नमुना सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्न एडिबीसित आग्रह गर्नुभयो ।

त्यसैगरी मन्त्री लेखक र एडिबी निर्देशक कोस्वाबीच सुदूरपश्चिम पालिकामा एडिबीको सहयोगमा बनिरहेका आधुनिक शहरको निर्माणलाई थप निरन्तरता र सुदूरपश्चिमको धार्मिक पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा सहयोगका विषयमा छलफल भएको छ ।

एडिबी प्रतिनिधिसितको छलफलमा मन्त्री लेखकले गत वर्ष एडिबीले सुदूरपश्चिमको पर्यटकीय विकासका लागि गरेको ‘सर्वे रिपोर्ट’ कार्यान्वयनमा समेत जोड दिनुभयो । एडिबीका निर्देशक  कोस्वाले उक्त विषयमा एडिबीको माथिल्लो तहसित छलफल गरी जवाफ दिने बताउनुभयो । रासस

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्