६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ २९ अर्ब २७ करोड ८२ लाख ४ हजार मूल्य बराबरको नेपाली उत्पादन निर्यात

Sagarmatha Post
Sagarmatha Post १२ माघ २०८१, शनिबार
3 Min Read
Aa

बीरगंज । बीरगंजस्थित एकीकृत तथा आइसिपी भन्सार नाका हुँदै आर्थिक बर्ष २०८१/०८२ को (साउनदेखि पुस मसान्तसम्म) ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ २९ अर्ब २७ करोड ८२ लाख ४ हजार मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ ।  वीरगंज नाका हुँदै भारत, डेनमार्क, अष्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाईल्याण्डलगायतका मुलुकहरूमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगंजस्थित आइसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी दिनुभयो ।

आइसिपी भन्सार नाका हुँदै आर्थिक बर्ष २०८१/०८२ को ६ महिनामा सबैभन्दा धेरै भटमासको प्रशोधित तेल भारत निर्यात भएको छ । ६ महिनामा वीरगंज नाकाबाट मात्रै ११ अर्ब ९९ करोड १८ लाख ५२ हजार मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ । त्यसैगरी, वीरगंज नाकाबाट सो अवधिमा ३ अर्ब ४४ करोड ८६ लाख ८५ हजार मूल्य बराबरको फलफूलको जुस तथा जाम भारत निर्यात भएको छ ।

सो अवधिमा ३ अर्ब २१ करोड ९१ लख ५५ हजार मूल्य बराबरको सूर्यमुखी प्रशोधित तेल निर्यात भएको छ भने २ अर्ब ७० करोड ५५ लाख ३३ हजार मूल्य बराबरको फलाम तथा फलामका सामाग्रीहरू निर्यात भएको वीरगंज भन्सार कार्यालयबाट उपलब्ध तथ्याङ्कमा उल्लेख छ ।  वीरगंज नाकाबाट ६ महिनाको अवधिमा १ अर्ब ३९ करोड ४५ लाख ७५ हजार मूल्य बराबरको सेन्थेटिक यार्न निर्यात भएको छ ।

त्यसैगरी सो अवधिमा १ अर्ब ३१ करोड ३२ लाख ५७ हजार मूल्य बराबरको विभिन्न कपडाहरू भरत तथा तेस्रो मुलुक निर्यात भएको छ । सो अवधिमा १ अर्ब ५ करोड ८६ लाख ६६ हजार मूल्य बराबरको पशु आहारको कच्चा पदार्थ , ६४ करोड ८६ लाख ६३ हजार मूल्य बराबरको आयुर्वेदिक औषधि, ५९ करोड ४७ लाख ४२ हजार मूल्य बराबरको सेन्थेटिक कपडा र ४७ करोड ९७ लाख ८३ हजार मूल्य बराबरको कुकुर तथा बिरालाको खाना तेस्रो मुलुक निर्यात भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले बताउनुभयो ।

सो अवधिमा बीरगंजको आईसिपी भन्सार नाकाबाट मनोरञ्जनका सामान, स्पोर्ट सुज, दन्त मन्जन,  रेसाको कपडा,स्टीलका भाडाकुडा र सि.आर.सीट, जीआई.पाइप लगायतका सामानहरू भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी दिनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्