अस्पतालमा सुडानी विद्रोही समूहको आक्रमण, ६८ बिरामीको मृत्यु, १९ जना घाइते

Sagarmatha Post
Sagarmatha Post १३ माघ २०८१, आईतवार
1 Min Read
Aa

खार्तुम । सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) द्वारा अस्पतालमा गरेको आक्रमणमा कम्तीमा ६८ बिरामीको मृत्यु भएको र अन्य १९ जना घाइते भएको छ। सुडानी डाक्टर नेटवर्कले एक विज्ञप्तिमा यस घटनाको जानकारी दिएको हो।

‘उत्तरी डार्फरको अल फाशरमा रहेको साउदी अस्पतालमा मिसाइल आक्रमणबाट ६८ जना बिरामी मारिएका छन् भने अन्य १९ जना घाइते भएका छन्,’ विज्ञप्तिमा भनिएको छ। स्थानीय गैर–सरकारी संस्थाहरूले पनि यस आक्रमणमा ६८ जनाको मृत्यु र दर्जनौं घाइते भएको पुष्टि गरेका छन्। आक्रमणका कारण अस्पतालको आपतकालीन विभाग पूर्ण रूपमा ध्वस्त भएको छ।

डार्फर क्षेत्रका गभर्नर मिन्नी अर्को मिन्नावीले आरएसएफको आक्रमणको कडा निन्दा गर्दै भने,‘लक्षित विभाग एल फाशरका बासिन्दाहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने एक मात्र विभाग थियो।’ सुडान २०२३ को अप्रिलदेखि सुडानी सशस्त्र सेना र आरएसएफ बीचको द्वन्द्वको चपेटामा परेको छ, जसका कारण १५ लाख भन्दा बढी मानिस विस्थापित भएका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्