बंगलादेशको राजधानी ढाकामा पुनः हिंसा मच्चिएको छ । बुधबार राति पूर्वप्रधानमन्त्री शेख हसिनाका विरोधीहरूले ढाकाको धनमन्डी–३२ मा रहेको उनका बुवा शेख मुजिबुर रहमानको घरमा आगजनी गरेका छन् । साथै उनीहरूले आगलागीबाट बचेको घरसमेत भत्काइदिएको र मुजिबुरको भित्तेचिलाई पनि बिगारेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । तोडफोड गरिएको त्यही घर हो जहाँ १५ अगस्ट १९७५ मा शेख मुजीब, उनकी पत्नी, छोरा, बुहारी र अरु कैयौ नातेदारको हत्या गरिएको थियो ।
उक्त हत्याकाण्डपछि त्यो घरलाई संग्रहालयमा रुपान्तरण गरिएको थियो । ५ अगस्ट २०२४ शेख हसिनाले देश छाड्नुअघि पनि यो घरमा आक्रमण गरिएको थियो । साथै प्रदर्शनकारीले बुधबार राति र बिहीबार बिहान देशभर हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेका छन् । भारतमा रहेकी हसिनाको अनलाइन कार्यक्रम हुनुभन्दा ठीक अगाडि बङ्गलादेशमा हिंसा सुरु भएको थियो । बङ्गलादेशको अखबार ’द डेली स्टार’को समाचारमा जनाइएअनुसार हसिनाको ’बङ्गलादेशविरोधी गतिविधि’का कारण यो विरोध प्रदर्शन गरिएको हो ।
अपदस्थ प्रधानमन्त्री हसिनाका विरोधीहरूले उनले भारतमा बसेर बङ्गलादेशविरोधी गतिविधि गरिरहेको आरोप लगाउने गरेका छन् । गत वर्ष बङ्गलादेशमा विद्यार्थी आन्दोलनको हिंसात्मक प्रदर्शनपछि हसिनाले देश छोड्नपरेको थियो । उनी गत वर्षको अगस्ट ५ मा भारत गएकी थिइन् । हसिना पार्टी नेतृत्वको पार्टीको विद्यार्थी शाखा छात्र लिगले एक अनलाइन कार्यक्रम आयोजना गरेको थियो । जसमा हसिनाले फेसबूकमार्फत बोल्ने कार्यक्रम थियो । कार्यक्रमको समय राति ९ बजे तोकिएको थियो । यो कार्यक्रमको खबर फैलिनेबित्तिकै प्रदर्शनकारीहरूले ’बुलडोजर प्रदर्शन’को आह्वान गरे । यसको समय पनि राति ९ बजेलाई नै ताकिएको थियो । तर राति ८ बजे भेदभावविरोधी आन्दोलनका संयोजक हसनत अब्दुल्लाहको अपिलपछि बेल्चा र हथौडा लिएर सयौं प्रदर्शनकारी धनमण्डी–३२ मा प्रवेश गरे ।


प्रतिक्रिया दिनुहोस्