काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रवि लामिछानेका पक्षमा उभिएका छन् । संसद्को रोस्ट्रमबाटै पहिले रवि निर्दोष रहेको बताएका उनले यसपटक सरकारले रास्वपा सभापति लामिछानेविरुद्ध प्रतिशोध साँधेको बताए । प्रचण्डले अहिलेको सरकार प्रतिशोध लिनुपर्यो भनेमात्रै बलियो देखिएको बताएका छन् ।
“यो सरकार प्रतिशोध साँध्नुपर्यो भने बलियो र शक्तिशाली भइहाल्छ । यसको उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा पनि हो,” प्रचण्डले भने, “सहकारीबाट ऋण लिएको भेटिएन भनेको व्यक्तिलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका अभियोग लाएर महिनौँ हिरासतमा राखिएको छ ।”
उनले लामिछानेलाई अदालतले पुर्पक्षका निम्ति थुनामा नपठाएपछि सांसद पदमा निलम्बन संवैधानिक नभएको बताए । “अभियोगमा अदालतले पुर्पक्षका लागि थुनामा नपठाएका रवि लामिछानेको सांसद पद निलम्बनमा राख्नु संवैधानिक हुन्छ ?,” प्रश्न गर्दै प्रचण्डले भने, “राजनीतिक प्रतिशोधमा आरोप लगाइदिने र त्यसमै टेक्दै निलम्बन गर्ने कुराले हामीलाई कहाँ पुर्याउँछ ?”
उनले रवि लामिछानेलाई संगठित अपराधमा किन मुद्दा नचलाएको भनेर चितवनका न्यायाधिवक्तालाई सरुवा गर्ने र छानबिन गर्ने निर्णय र बाँसबारीको छालाजुत्ता कारखानाको जग्गा हिनामिना गर्ने व्यक्तिविरुद्ध मुद्दा नचल्ने निर्णय एकसाथ भएको बताए । उनले कतिपयलाई राजनीतिक आधारमै उही दिन अदालतमा उपस्थित गराएर उसै दिन धरौटीमा रिहा गरिएको भन्दै उनले प्रतिपक्षी पार्टीका सभापतिलाई त्यही अरोपमा महिनौँ हिरासतमा राखेको टिप्पणी गरे ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै प्रचण्डले रवि लामिछानेलाई अदालतबाट धरौटीमा रिहा भैसकेपछि सांसदबाट निलम्बन कति न्यायपूर्ण र संविधानसम्मत् छ भन्ने कुरा पूर्नसमिक्षा गरिनुपर्ने माग गरे ।


प्रतिक्रिया दिनुहोस्