काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपलिकाका नगर प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार विशेष अदालत काठमाडौंमा दायर भएको मुद्दामा बस्नेतसँग आठ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा बिगो माग गरिएको छ । बस्नेतले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा जाँच अवधिमा बस्नेत र उनका एकाघर परिवारका सदस्यहरूले कुल १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ २५ पैसा आय आर्जन गरेको पाइएको अख्तियारले जनाएको छ । सोही अवधिमा बस्नेतको २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ ९४ पैसा खर्च तथा लगानी गरेको देखिएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । कुल आयबाट सोही अवधिको कुल खर्च घटाउँदा कुल आयभन्दा कुल ब्यय अधिक हुन गई जाँच अवधिमा आठ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको ठहर अख्तियारले गरेको छ ।
बस्नेतले सार्वजनिक पदको दुरुपयोग गरी आठ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । यसैगरी बस्नेतले गैरकानुनी रूपमा जोडेको सम्पत्ति श्रीमती उर्मिला बस्नेतको नाममा पनि राखेको हुँदा सम्पत्ति र घरजग्गा जफत गर्ने प्रयोजनार्थ उनलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ । जग्गा प्लष्टिङमा अनियमितता गरेको भनी उनीविरुद्ध यसअघि नै भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । हाल उनी निलम्बित अवस्थामा छन् ।


प्रतिक्रिया दिनुहोस्